Logo
२०८१, २९ कार्तिक बिहीबार
|  Thu Nov 14 2024

पोखराका सहकारी पीडितहरूले गृहमन्त्री लामिछाने लक्षित आन्दोलन गर्ने


पोखराका सहकारी पीडितहरूले गृहमन्त्री रवि लामिछाने लक्षित आन्दोलन गर्ने भएका छन् । सहकारीमा राखेको बचत फिर्ता गर्न सरकार र राजनीतिक दलहरूले चासो नदिएको भन्दै पीडितहरु संगठित रूपमा गृहमन्त्री लामिछाने लक्षित आन्दोलनमा जान लागेका हुन्।

सरकारले सहकारी पीडितको कुनै पनि वास्ता नगरेको भन्दै सरकारको ध्यानकर्षण गर्न बृहत आन्दोलनको घोषणा गरेको पीडितहरुले बताएका छन् । सर्वसाधारणको बचत अपचलन गरेको भन्दै पीडितहरुले ‘कास्की सहकारी बचत पीडित संघर्ष समिति’ समेत गठन गरेका छन् । पोखरामा अहिले ६ वटा सहकारीले बचत अपचलन गरेको मुद्दा अदालतमा विचाराधीन छ। यी ६ वटै सहकारीका पीडितहरूले संयुक्त रूपमा जाने निर्णय गरेका हुन्।

सूर्यदर्शन सहकारी पीडित किरण श्रेष्ठको संयोजकत्वमा गठित समितिमा इमेज सहकारी पीडित हरिबहादुर खत्री, कोषाध्यक्षमा शिव शिखर सहकारी पीडित टेकराज तिमिल्सिना, सचिवमा मित्र मिलन सहकारी पीडित प्रकाश पौडेल र सहसचिवमा बलिदानी सहकारी पीडित धम पुन छन्। संघर्ष समितिको भेलाले अर्को साता पोखरामा बृहत प्रदर्शनी गर्ने निर्णयसमेत गरेको संयोजकहरुले बताएका छन् ।

सहकारी पीडितको बचत फिर्ता गर्न भन्दा पनि सरकार र पार्टीहरूले पदको सौदाबाजीमा लागेकाले आन्दोलनमा जानुपरेको संयोजकहरुको भनाइ छ । ‘सरकारले कुनै टेरपुच्छर लगाउने देखिएन, दलहरू पनि पीडितका पक्षमा देखिएनन्,’ एक पीडितले भने । ‘पीडितहरू आफैं आन्दोलनमा नगइकन हुँदैन भनेर अगाडि बढ्न खोजेका हौं।’ सरकार र राजनीतिक दलहरूले पीडितको आवाज दबाएको पनि उनले बताए। सहकारीमा राखेको बचत २ वर्षभन्दा लामो समयदेखि फिर्ता नहुँदा कतिपय पीडितको मृत्यु भएको र कतिपय अत्यन्त नाजुक जीवन बिताउन बाध्य भएको पीडितहरुको भनाइ छ ।

पोखरामा आएका बेला प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरू एमाले अध्यक्ष केपी ओली ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने लगायतलाई ज्ञापन पत्र बुझाउँदा पनि सुनुवाइ नभएको पीडितहरुको गुनासो छ । ‘नेपालका सबै ठूला नेता, प्रधानमन्त्री, गृहमन्त्री सबैलाई ज्ञापन पत्र बुझाएका बेला हुन्छ गर्छौं भन्ने पछि पीडितहरुको पीडा नबुझ्ने उनीहरुको भनाइ छ । अब भने आफ्ना आवाज बुलन्द बनाउने पीडितहरुले बताएका छन् ।

पीडितहरूले सहकारी ठगीका सबै अभियुक्तलाई तत्काल पक्राउ गर्नुपर्ने, निष्पक्ष छानबिन गर्नुपर्ने, तत्काल पीडितका बचत रकम फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन्। उक्त माग पुरा नहुँदासम्म आन्दोलनमा जाने पनि निर्णय भएको पीडितहरुले बताएका छन् ।

कास्कीमा खुलेका सहकारीहरूमध्ये सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट मात्र १ अर्ब ३१ करोड बढी अपचलन भएका छन्। यसका अध्यक्ष एवं ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गीतेन्द्र बाबु (जिबी) राई सहकारी ठगीमा अझै फरार छन्। राईलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयको अनुरोधमा गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयले मलेसियामा ‘कूटनीतिक नोट’ पठाएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जानकारी दिएका छन् । डिफ्युजन नोटिसको आधारमा मलेसियामा ‘लोकेट’ भएका जीबी राईलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई पत्राचार गरिएको बुझिएको छ ।

पोखरामै खुलेको अर्को इमेज बचत तथा ऋण सहकारीबाट पोखरामा मात्र करिब १ अर्ब अपचलन भएको छ। पोखरा र बागलुङमा छुट्टाछुट्टै इमेज सहकारी चलाएका ढोरपाटनका मेयर देवकुमार नेपाली पनि सहकारी ठगीमा फरार छन्।

यस्तै, मित्रमिलन, शिव शिखर, बलिदानी सहकारीले पनि करोडौं ठगी गरेको आरोप अदालतमा विचाराधीन छ। यी ठगीका केही आरोपीहरु अझै फरार छन्।


प्रतिक्रिया दिनुहोस !
विचार