Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

ओलीलाई भएको के हो ?


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएको खबर सार्वजनिक भएपछि उनको स्वास्थ्यप्रति धेरैले चासो देखाएका छन् । गोदावरीमा जारी पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा उपस्थित हुन नसकेपछि शनिबार दिउँसोदेखि नै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बैठकको अध्यक्षतामा गरिरहेका छन् भने आइतबार पनि ओली बैठकमा उपस्थित भएनन् । स्वास्थ्यमा समस्या देखिएको भन्दै शनिबार दिउँसो ओली बैठक स्थलबाट बाहिरिएका थिए । राजनीतिक प्रतिवेदन पढिसकेपछि ओलीले बैठकको अध्यक्षता वरिष्ठ उपाध्यक्ष पोखरेलले गर्ने जानकारी दिएका थिए ।

आफ्नो स्वास्थ्यमा समस्या देखिएको भन्दै शनिबार बैठकबाट बाहिरिएका ओली आइतबार पनि घरमै आराम गरेर बसिरहेका छन् । पार्टीका नेता तथा शुभेच्छुकहरुले ओलीको स्वास्थ्यप्रति चिन्ता जाहेर गरेपछि ओलीलाई सामान्य रुघाखोकी मात्रै रहेको बैठकस्थलमा जानकारी गराइएको छ ।

नेकपा एमालेका एक केन्द्रीय सदस्यले दिएको जानकारी अनुसार शनिबार बिहानैबाट ओलीलाई रुघाखोकीले छोएको थियो । पार्टीको महाधिवेशन परिषद् बैठकमा जाने या नजाने भन्ने विषयमा दोधारमा रहेका ओली सामान्य रुघाखोकी हुँदैमा किन नजाने भन्दै सहयोगीहरुका साथमा घरबाट बैठकस्थल गएका थिए । तर, रुघाले ग्रस्त पार्न थालेपछि ओली बैठकको अध्यक्षता गर्न ईश्वर पोखरेललाई भनेर उनी बाहिरिए । अहिले भने ओलीको स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ । आइतबार बैठकको समापन समारोहमा समेत ओली उपस्थित नहुने जनाइएको छ । तर, सोमबार हुने हिरक महोत्सवमा भने ओली सहभागी हुने बताइएको छ । सोमबार नेकपा एमालेले गोदावरीको सनराइज हलमा अन्य पार्टीका नेताहरुलाई समेत बोलाएर हिरक महोत्सव मनाउँदैछ । हिरक महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि लिएर विपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवासम्मका नेताहरु सहभागी हुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार