कतारका राजा मंगलबार नेपाल आउने भएपछि सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ । सोमबार बसेको मत्रीपरिषद बैठकले कतारका राजा आउने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कतारका राजा नेपालको दुईदिने भ्रमणमा आउने भएपछि मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको बताइन् ।
कतारका राजा शेख तमिम बिन हमाद अल थानीले मंगलबार र बुधबार नेपालको भ्रमण गर्दैछन् । विदेशी राष्ट्र प्रमुखको नेपाल भ्रमण हुँदा सार्वजनिक बिदा दिने यसअघिको अभ्यासअनुसार नै कतारका राजाको भ्रमणमा बिदा दिने निर्णय भएको बताइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उनको भ्रमण हुन लागेको हो । यसअघि कतारका राजाको नेपाल भ्रमण भएको थिएन । पहिलोपटक नेपाल भ्रमणमा आउँन लागेका राजा थानी आफ्ना दुईवटा निजी जहाज लिएर भ्रमणमा आउँदैछन् । उनका साथमा आधा दर्जनभन्दा बढी मन्त्री हुने बताइएको छ । उनको भ्रमणपूर्व नै तयारीका लागि ५० भन्दा बढी कतारी प्रतिनिधि काठमाडौं आइसकेका छन् । नेपालस्थित कतारी राजदूतावासले राजाको भ्रमणको गृहकार्य पूरा भएको यसअघि नै बताएको थियो । कतारका राजालाई अमिर भनिन्छ । परराष्ट्र मन्त्रालयका अनुसार कतारका अमिरले मंगलबार राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् भने प्रधानमन्त्री पुष्पकमल दाहालसँग बुधबार भेटर्वार्ता गर्दैछन् । प्रधानमन्त्रीसँगको भेटमा बुधबार द्विपक्षीय वार्ता गरी केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम समेत तय भएको छ । बुधबार नेपालका प्रधानमन्त्रीसँग केही सम्झौतामा हस्ताक्षर गरेपछि राजा थानी उनी बुधबार बेलुका नै कतार फर्कने छन् ।
कतार न्युज एजेन्सीले एसियाली मुलुकको भ्रमणमा निस्केका राजाले सम्बन्धित मुलुकका नेता तथा वरिष्ठ अधिकारीहरूसँग सहकार्य अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख गरेको छ । नेपाल भ्रमणमा आउन लागेका कतारका राजाले कतार भने आइतबार नै छाडिसकेका छन् । उनी आइतबार कतारको दोहाबाट फिलिपिन्स गएका छन् भने फिलिपिन्सपछि बंगलादेशको यात्रा तय गरेका छन् । बंगलादेशको भ्रमण सकेर कतारका राजा नेपाल आउँन लागेका हुन् । एकैसाथ तीन एसियाली मुलुकको भ्रमणमा निस्किएका कतारका राजाको यो भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ । पछिल्लो समय उदीयमान शक्तिका रुपमा अघि बढ्दै गरेको कतारमा नेपालबाट रोजगारीका लागि हजारौं युवा पुगेका छन् । यसपटक कतारका राजाको नेपाल भ्रमणका क्रममा कतारमा रहेका नेपाली कामदार तथा त्यहाँको रोजगारीका विषयमा नेपाल र कतारबीच विशेष कुराकानी हुने बुझिएको छ । कतारका राजाको भ्रमणलाई सफल पार्नका लागि नेपाल सरकारले समेत विशेष योजना बनाएको छ । विदेशी राष्ट्र प्रमुखको यो भ्रमणलाई प्रचण्ड नेतृत्वको सरकारले पनि विशेष प्राथमिकतामा राखेको छ ।