Logo
२०८१, ४ जेष्ठ शुक्रबार
|  Fri May 17 2024

वनमा लागेको डढेलो बस्ती पस्दा ४८ घरगोठ जलेर नष्ट


जङ्गलमा लागेको डढेलो बस्तीमा पस्दा पाल्पा र सोलुखुम्बुमा आगलागीबाट ४८ वटा घरगोठ जलेका छन् ।

रामपुर नगरपालिका ४ र ५ का साथै पूर्वखोला गाउँपालिका–६ हेक्लाङमा जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिएपछि ३८ वटा घरगोठ जलेका हुन् । पूर्वखोलाको हेक्लाङमा २७ वटा घरगोठ र रामपुर नगरपालिकाको ४ र ५ मा ११ वटा घरगोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । हिजो दिउँसोदेखि बस्तीमा पसेको आगो राति अबेर मात्रै पूरै निभाइएको र वनको आगो भने अझै निभाउन नसकिएको प्रहरीको भनाइ छ ।

यस्तै सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० वटा घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाईभैँसीको गोठ जल्नुका साथै केही पशुचौपायासमेत मरेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगलागीबाट थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राईको घर र गोठ जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै बडीसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनि आगोले जलेको प्रहरीले बताएको छ ।

थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनको राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको बेगका कारण घरमा सल्किँदा बस्ती नै खरानी भएको छ । गाउँमा सल्किएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, गाउँपालिकालगायतको सक्रियतामा निभाइएको छ भने जङ्गलको डढेलो निभाउन सकिएको छैन । घटनाको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यस्तै नेचासल्यान गाउँपालिका–२ डिटीमा आज बिहान दुई वटा घर र बाख्राको एउटा खोर जलेर नष्ट भएको छ । बिहान ज्ञानबहादुर खत्रीको दुई वटा घर र एउटा खोर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । यस्तै उदयपुरको लिम्चुङबुङ गाउँपालिका–५ हिम्मा ढुकुरथुम्कामा रहेको रानी सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा तीन वटा घर र तीन वटा गोठ जलेका छन् । यसैगरी त्रियुगा नगरपालिका–१३ भातीखर्कका जगतबहादुर राईको घर जलेर नष्ट भएको छ ।

अहिले देशभर वन डढेलो बढेको छ । पानी नपरेसम्म डढेलो निभाउन मुस्किल पर्छ । डढेलो निभाउने गरी पानी पर्ने सम्भावना तत्काल नदेखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कोशी, गण्डकी, कर्णालीका केही पहाडी भेगमा आंशिक बदलीसहित छिटफुट वर्षाको सम्भावना रहेको छ । तर वन डढेलो नै निभ्ने किसिमको पानी पर्ने सम्भावना तत्काल नभएको महामशाखाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार