Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

रन्थनियो भारत, सयको नोटमा नेपालले चुच्चे नक्सा राख्ने निर्णयले तनाव


नेपाली एक सय रुपैंयाँको नोटमा नयाँ चुच्चे नक्सा प्रकाशित गर्ने नेपाल सरकारको निर्णयप्रति भारतले असन्तुष्टी जनाएको छ । नेपालले आफ्नो देशको चुच्चे नक्सालाई नोटमा समेत अंकित गर्ने निर्णय गरेपछि भारतले यसप्रति असन्तुष्टी जनाएको हो । भारतीय विदेशमन्त्री एस जयशंकरले भारतको भुवनेश्वरमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले जारी गरेको चुच्चे नक्साका विषयमा नयाँ दिल्लीको ‘पोजिसन’ स्पष्ट रहेको र नेपालले एकतर्फी निर्णय गरेको जिकिर गरेका हुन् ।

विदेशमन्त्री जयशंकरले सीमा विवादबारे दुई देशबिच छलफल जारी रहँदा नेपालले गरेको एकतर्फी निर्णयले वास्तविकता परिवर्तन नहुने बताएका छन् । उनले भनेका छन्, ‘मैले रिपोर्ट हेरेँ । मैले विस्तारमा त हेर्न पाएको छैन, तर यस विषयमा हाम्रो पोजिसन स्पष्ट छ । स्थापित मञ्चहरू मार्फत हामीले नेपालसँग सीमा विवादका विषयमा छलफल गरिरहेका थियौँ । यहीबिचमा नेपालले एकतर्फीरुपमा केही निर्णय गरेको छ ।’

भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालका पछिल्ला निर्णयले अवस्था र जमिनी वास्ताविकतामा परिवर्तन गर्न नसक्ने जिकिर गरेका छन् । उनले भनेका छन्, अर्कोतर्फ गरिएको निर्णयले उनीहरूले हामीबिचको अवस्था र जमिनी वास्तविकता परिवर्तन गर्न सक्दैनन् । ’

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको १ सय रुपैयाँको नोटमा लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समावेश गरिएको चुच्चे नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो । उक्त निर्णय लगत्तै भारतका विदेशमन्त्रीले आफ्नो प्रतिक्रिया दिएपछि अहिले नेपालमा भारतको तिब्र आलोचना भइरहेको छ । भारतले नेपाललाई फेरि हेपेको भन्दै केहीले आफ्नो देशको नोटमा जे राखेपनि भारतलाई के मतलब भन्दै टिप्पणी गरेका छन् । भारतसँग नेपाल कुनै हालतमा झुक्न नहुने भन्दै उनीहरुले यथाशक्य नोट प्रकाशित गरेर भारतलाई जवाफ दिनुपर्ने बताएका छन् । नेपालले सन् २०२० को मे महिनामा कालापानी, लिपुलेक, लिम्पियाधुरा लगाएतका क्षेत्र समेटेर चुच्चे नक्सा प्रकाशित गरेको थियो । त्यसअघि भारतले उसको देशको नक्सामा ती क्षेत्रहरूलाई समेत समावेश गरेपछि नेपालले नयाँ नक्सा सार्वजनिक गरेको थियो । यो विषयले केही समय नेपाल र भारतबीचको सम्बन्धमा तनावको स्थिती उत्पन्न भएको थियो ।

वि.सं २०३२ मा नेपालले प्रकाशित गरेको पूरानो नक्सामा गुन्जी, नाभी र कुरीलाई समावेश गरेको थिएन । नयाँ नक्सामा भने थप ३३५ वर्ग किलोमिटर क्षेत्रफल नेपालले आफ्नो नक्सामा राखेको थियो । त्यसपछि सन् २०२० को मे ८ मा भारतले लिपुलेक हुँदै कैलाश मानसरोवरसम्म नयाँ सडक उद्घाटन गरेपछि दुई देशबिचको तनाव थप बढेको थियो । नेपालले यसबारे आपत्ति जनाउँदै भारतलाई कूटनीतिक नोटसमेत पठाएको थियो । कूटनीतिक नोट पठाउनु अघि नेपालले सडक बनाउने भारतको एकतर्फी निर्णयको कडा रूपमा विरोध गरेको थियो । यस विषयमा भारतको विदेश मन्त्रालयले उक्त सडक उत्तराखण्डको पिथौरागढ जिल्लामा निर्माण हुने र उक्त क्षेत्र भारतीय भूभागभित्र पर्ने स्पष्टीकरण दिएको थियो । तर, त्यसको जवाफमा नेपालले लिपुलेक लगाएतका नेपाली भूमी नछाड्ने बताउँदै नयाँ चुच्चे नक्सा सार्वजनिक गरेपछि भारत चिढिएको थियो । भूकम्पपछिको समयमा नेपालमाथि नाकाबन्दी नै गरेको भारतले यो घटनापछि पनि त्यस्तै कुनै कदम चाल्न सक्ने अनुमान गरिएपनि त्यो आँट भने गरेको थिएन । अहिले सय रुपैंयाँको नोटमा चुच्चे नक्सा प्रकाशित गर्ने नेपालको निर्णयले फेरि एकपटक भारत रन्थनिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार