Logo
२०८१, ६ जेष्ठ आईतवार
|  Sun May 19 2024

चोरेर निलेको एक तोला सुन ३६ घण्टापछि दिशाबाट निकालियो


एक व्यक्तिले एक तोला सुन चोरेर निलेको पाइएको छ । पाँचथरको फिदिम नगरपालिका–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न गएका फिदिम–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले विष्णुकुमारीको सुन चोरेर निलेका हुन् । उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रहरीका अनुसार योङ्या गत चैत्र २८ गते विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए । योङ्याले घरभित्र पसेर स्टिलको दराज फोरी दराजबाट सामान निकाल्दै गरेका बेला घरका सदस्यहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुचना पाउनासाथ खटिएको प्रहरी टोलीले योङ्यालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिनासाथ प्रहरीले योङ्याको साथबाट १५ हजार रुपैयाँ नगद बरामद गरेको थियो । घरका सदस्यहरुले अन्य सामान पनि चोरी गरेको हुन सक्ने आशंकामा सबै खोजतलास गरेका थिए । सोहि क्रममा अन्य गरगहना पनि उनको साथबाट बरामद भएको थियो । तर, विष्णुकुमारीको गरगहनामध्ये एक तोला सुन फेला परेन । उनको साथमा पनि थिएन ।

योङ्याको साथबाट १५ हजार नगद र अन्य गरगहना मात्रै फेला परेपछि उक्त एक तोला सुनपनि उनैले कतै लुकाएको हुनसक्ने भन्दै घरका सदस्य र प्रहरीहरुले उनलाई निकै केरकार गरे । तर, उनले आफुले उक्त सुन नलिएको र कतैपनि नलुकाएको जिकिर गरिरहे । त्यसपछि प्रहरीले चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको हुन सक्ने आशंका गरे । उक्त आशङ्कापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो । एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो । उनको पेटमा धातु देखिएपछि योङ्यालाई प्रहरीको नियन्त्रणमा राखेर निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो ।

निलेको ३६ घण्टापछि दिशाबाट निकालिएको उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो । एक्स–रे गरौंदा पेटमा देखिएको धातु दिशाबाट निकालेर परीक्षण गर्दा सुन भएकोे पुष्टि भएको थियो । त्यसपछि योङ्याले उक्त सुन मान्छे आएपछि आफुले लुकाउनका लागि निलेकोे प्रहरीमा बयान दिएको प्रहरीले जनाएको छ । प्रहरीले परीक्षण पछि उक्त सुन विष्णुकुमारी तामाङलाई नै दिएको जनाएको छ । गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो ।

जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई रु एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर धरौटी रकम जम्मा गर्न नसकेपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार