Logo
३२ असार २०८३, बिहीबार
|  Fri Jul 17 2026

सन्दीपलाई भिसा दिन अमेरिकाद्वारा अस्वीकार


अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ । लामिछानेले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो भिसा अस्वीकृत भएको जानकारी गराएका हुन् ।

जबरजस्ती करणी मुद्दामा सफाइ पाएसँगै विश्वकप खेल्न नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक सबै प्रक्रिया पूरा गरेपनि उनलाई अन्तिम समयमा नेपालस्थित अमेरिकी दूतावासले भिसा नदिएको हो।

नेपालस्थित अमेरिकी दूतावासले २०१९ मा जे गरेको थियो अहिले पनि त्यही गर्‍यो, लामिछानेले फेसबुकमा भनेका छन्, दुर्भाग्य ! अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपका लागि मेरो भिसा अस्वीकृत भएको छ । नेपाली क्रिकेटका सम्पूर्ण शुभेच्छुकहरुमा माफी चाहन्छु ।

यसअघि जबरजस्ती करणी मुद्दा लागेपछि नेपाल प्रहरीको आग्रहमा इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो । त्यसपछि अमेरिकाले यसअघिको सबै भिसा रद्द गरेकाले उनले भिसाका लागि नयाँ आवेदन दिनु परेको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार