कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया प्रकरणमा यसअघि आफूहरुले दिएको अभिव्यक्तिप्रति महजोडी अर्थात वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले माफी मागेका छन् । एक कार्यक्रममा सहभागी हुनका लागि अष्ट्रेलिया पुगेका उनीहरूले त्यहीँबाट भिडिओ सन्देश जारी गर्दै दर्शकसँग माफी मागेका हुन् ।
सिरोहिया पक्राउ भएको सन्दर्भमा केहीदिनअघि कान्तिपुर टेलिभिजनले उनीहरुको प्रतिकृया लिएको थियो । जसमा महजोडीले लोकतन्त्रको लागि कान्तिपुर र सिरोहियाले लडेको भन्दै त्यस्तो व्यक्तिलाई हतारमा पक्राउ गर्नु ठिक नभएको प्रतिकृया दिएका थिए । उनीहरुको यो प्रतिकृयापछि सामाजिक सञ्जालमा महजोडीको व्यापक आलोचना भएको थियो । उनीहरूको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा विभिन्न प्रकारका टिप्पणी भएका थिए । प्रहरीले अनुसन्धान गरिरहेको विषयमा सिरोहियाको बचाउ गरिएको भन्दै महजोडीले त्यसो गर्नु जीवनकै सबैभन्दा ठूलो भूल भएको केहीको प्रतिकृया थियो । सामाजिक सञ्जालमा आफूहरुका विषयमा नकारात्मक टिप्पणी आएपछि महजोडीले आफूहरूबाट त्रुटि भएको बताउँदै अपर्झट प्रतिक्रिया दिनुपर्दा अल्मलिएको बताएका छन् । सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि उनीहरूले माफी माग्दै भनेका छन्, ‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ,’ एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ ।’ त्यसरी अपर्झट बोल्दा हामीबाट त्रुटि हुन गएको महसुस हामीलार्य भयो ।
अदालतमा विाचाराधिन विषयमा आफूहरुले नबोलेको भए पनि हुने भन्दै उनीहरुले भनेका छन्, ‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो, हामीबाट त्रुटि भयो । त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो ।’ यो पटक पनि सबै कुरा बिर्सिदिएर आफूहरूलाई माफी गरिदिनुहोला ।
वरिष्ठ कलाकारद्धयले माफी सहितको भिडियो पोष्ट गरेपछि यतिबेला फेरि विभिन्न प्रकारका प्रतिकृया शुरु भएको छ । कतिपयले हतारमा बोलेर फुर्सदमा पछुताएको भनी टिप्पणी गरेका छन् भने कतिपयले माफी मागिरहन आवश्यक थिएन भनेका छन् ।