Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

११ वर्षीया नाबालिकालाई बिहे गर्ने ३० वर्षीय युवा पक्राउ


अर्घाखाँचीमा ११ वर्षीया बालिकालाई बिहे गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ४ पटौटीका राना मगर थर भएका ३० वर्षीय युवा रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रहरीका अनुसार मगरले वैशाख ३१ गते नाबालिकासँग विवाह गरेको खुलेको छ। ११ वर्ष सात महिना उमेरकी बालिका स्थानीय एक विद्यालयमा कक्षा ७ मा अध्यनरत थिइन्। बालिका केहि समयदेखि मामाघरमा बसेर पढ्दै आएकी थिइन्। उनलाई मामा घरबाटै राना मगरले फकाइ फुल्ल्याई बिभिन्न प्रलोभनमा पारेर विवाह गरेको भन्ने खुलेको प्रहरीको भनाइ छ ।

‘३० वर्षे व्यक्तिले १२ वर्ष पनि नपुगेकी नाबालिकालाई ललाइफकाइ भगाइ लगेर बिहे गरेको भन्ने गोप्य सूचनाका आधारमा हामीले रानालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेका छौं,’ एक प्रहरी अधिकारीले भने, ‘आइतबार हामीले आरोपितलाई पक्राउपछि अदालत पेस गरी पाँच दिनको म्याद थप भइसकेको छ।’ प्रहरीका अनुसार रानाले विवाहपछि बालिकालाई आफ्नै घरमा राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

राना मगरले भने आफूसँग ती नाबालिकाको प्रेम सम्बन्ध रहेको दाबी गर्दै आएको एक प्रहरी अधिकारीले बताए। मगरले प्रहरीसँग भनेका थिए, ‘उनी र म बिच केहि समयदेखि प्रेम सम्बन्ध भएकोले हामीले दुवैजनाको मन्जुरीमा विवाह गरेका हौँ । हामी दुवैले एकअर्कालाई माया गर्छौँ ।’ रोजगारीको लागि भारत आउजाउ गरिरहने उनले भगाएर लगेपछि ती नाबालिकालाई विवाह गरेका थिए।

प्रहरीले ती नाबालिकाको उद्धार गरी आफन्तको जिम्मा लगाएको छ। परिवारका अनुसार बालिका विद्यालय पढ्न जान पनि छोडेकी थिइन्। राना मगरले भगाएर लगेको थाहा पाएपछि परिवारका सदस्यहरुले मगरविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । परिवारको जाहेरीपछि प्रहरीले मगरलाई पक्राउ गरेका थिए ।

मगरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार