खोलामा गिट्टी– बालुवा चालिरहेकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सिराह जिल्लाको लहान नगरपालिका १८ सोभनपुरकी करिव ४० वर्षीया हसिरन खातुन रहेको जिल्ला प्रहरी कार्यालय सिराहले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ एक्सी आएको हावा हुरी सँगै पानी र चट्याङ पर्दा खुट्टिखोलामा गिट्टी–बालुवा चालिरहेकी खातुनको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो। खातुनले उनका श्रीमानसँगै खोलामा गिट्टी–बालुवा चालेर जीविकोपार्जन गर्दै आएकी थिइन् । बिहीबार पनि श्रीमानसँगै गिट्टी बालुवा चाल्न गएकी उनको चट्याङ लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार छोरीसहित खोलामा गिट्टी–बालुवा चालिरहेकै बेला पानी परेपछि श्रीमान् र छोरी चाल्नो पुर्याउन अलि पर पुगेका बेला चट्याङ परेर ढलेकी उनको तत्काल मृत्यु भएको थियो । खातुनको शरीरमा ठुलो चोट नदेखिए पनि लगाएको सुरुवालको तल्लो भाग जलेको देखिएको प्रहरीले जनाएको छ ।
खातुनका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्। उनीहरुको खोलामै गिट्टी–बालुवा चालेर जीविका चल्दै आएको थियो। खोलामै काम गरिरहेका अन्य भने सुरक्षित रहेको जनाइएको छ ।
खातुनको शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको छ।