Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

राष्ट्रियसभा बैठक आइतबार बस्ने, सम्भावित कार्यसूची सार्वजनिक


सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक भोलि बस्ने भएको छ । संसद् सचिवालयले भोलि दिउसो १ः१५ मा बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सचिवालयका अनुसार भोलिको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल हुनेछ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।

त्यसैगरी माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् भने विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची तय गरिएको संघीय संसद् स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार