Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

श्रीमतीको हत्या आरोपमा नेपाली सेनाका जवान सालिकराम पक्राउ


दाङमा श्रीमतीको हत्या आरोपमा नेपाली सेनाका एक जवान पक्राउ परेका छन्।शुक्रबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमतीको हत्या गरेको आरोपमा सेनाका जवान ३६ वर्षीय सालिकराम बुढाथोकी पक्राउ परेका हुन् ।

बिहानै हत्या गरेर फरार रहेका बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

सल्यान जिल्लाको कपुर कोट –६ घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत अमलदार बुढाथोकीले श्रीमती टिका बुढाथोकीको हत्या गरेको प्रहरीले जनाएको छ । शान्ति सेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सालिकरामले श्रीमतीका साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका छन् । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ ।

उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने सालिकराम इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार