भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहालसहित ५ जना सहभागी हुने भएका छन् । मन्त्रिपरिषद्ले शनिबार बिहान भारत जाने टोलीको नाम तय गरेको एक नेताले बताए ।
प्रधानमन्त्री दाहालको साथमा कानुनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, दाहालकी स्वकीय सचिव गंगा दाहाल र शिष्टाचार महापाल सहभागी हुनेछन् । शपथ ग्रहण समारोहमा धेरै देशका प्रमुखलाई निमन्त्रणा गरिएको जनाइएको छ ।
मोदीको निमन्त्रणामा छिमेकी राष्ट्रका अन्य सरकार प्रमुखमा बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घे, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, सेशेल्सका उपराष्ट्रपति अहमद अफिफ, मौरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथ, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जू लगायत सहभागी हुने जनाइएको छ ।
केन्द्रीय सरकारको विज्ञप्ति अनुसार राष्ट्रपति द्रौपदी मुर्मुले शपथ ग्रहण समारोहमा सहभागी हुने विदेशी नेताहरूका लागि राष्ट्रपति भवनमा रात्रिभोजको आयोजना गर्नेछिन् । भारतको ‘छिमेकी नीति’ र ‘सागर’ भिजन अन्तर्गत छिमेकी राष्ट्रका नेताहरूलाई आमन्त्रण गरिएको विज्ञप्तिमा उल्लेख छ । मोदी तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले शुक्रबार बेलुका उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।
त्यसअघि हिजो बसेको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को बैठकले मोदीलाई दलको नेतामा चयन गरेको थियो । एनडीएका सांसदहरुले राष्ट्रपतिलाई समर्थन पत्र बुझाएका थिए । मोदीले आइतबार बेलुका प्रधानमन्त्रीको शपथ लिने कार्यक्रम रहेको छ । ७३ वर्षका मोदीको यो ऐतिहासिक तेस्रो कार्यकालको सपथ हुनेछ ।
लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले एकल बहुमत ल्याउन नसकेपछि मोदी एनडीए गठबन्धनको तर्फबाट प्रधानमन्त्री बनेका हुन् । एनडीए गठबन्धनसँग संसद्को तल्लो सदन लोकसभामा पाँच सय ४३ मध्ये दुई सय ९३ सिट छ । यसमा भाजपाको दुई सय ४० सिट रहेको छ ।
अघिल्लो दुई चुनाव सन् २०१४ र २०१९ मा भाजपा एक्लैले बहुमत ल्याएको थियो ।