Logo
२०८१, ११ चैत्र मंगलवार
|  Tue Mar 25 2025

फसेका १३ खच्चड मध्ये ८ वटाको उद्धार


कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये दुई वटा खच्चड मरेका छन्। उद्धारका क्रममा दुई वटा खच्चडलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । प्रहरीका अनुसार एक खच्चड पुलमै मरिसकेको थियो भने अर्को जाली काटेर नदीमा झारेपछि मरेको हो। ८ वटा खच्चडको उद्धार गरिएको छ ।

आइतबार बिहानै अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुडिँदा १३ वटा खच्चड फसेका थिए। जालीमा छिरेर अड्किएका ती खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय लागेका छन्। फसेका खच्चडलाई पुलको जाली काटेर नदीमा खसालेर उद्धार गरिएको हो। नदीमा खसालिएका खच्चडलाई डुंगामार्फत् नदी किनारमा लगिएको छ।

बाँकी तीन वटा खच्चडलाई उद्धार गर्ने काम चलिरहेको उद्धार कार्यमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए। ती खच्चडहरूलाई नदीमा खसाल्न जोखिम भएकाले डोरीमा बाँधेर निकाल्ने प्रयास गरिएको उनले बताए। पुलको जाली काटेर खसाल्दा नदी छेउका ढुंगामा पर्छन्, त्यही भएर डोरी बाँधेर निकाल्न सकिन्छ कि भनेर लागेका छौं,’ उनले भने।

आइतबार अछामको पञ्चदेवलबाट चामल लिन दैलेखको राकम बजार जाँदै गरेको १३ वटा खच्चड पुलमा फसेका थिए। ती १३ वटा खच्चड ५ जना व्यापारीको रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार