Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

दम्पतीको हत्या आरोपमा सडक निर्माणसम्बन्धी काम गर्ने सार्की पक्राउ


महाभारत गाउँपालिका–४ महादेवटारमा मानबहादुर दम्पतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकैमाया बलको ८ जेठमा हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुपाल्चोकको जुगल–१ घर भई महादेवटारमा सडक निर्माणसम्बन्धी काम गर्ने ३८ वर्षीय एकेन्द्र सार्कीलाई पक्राउ गरेर बुधबार सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार २१ दिन अघि दम्पतीको फरक–फरक ठाउँमा शव फेला परेको थियो। मानबहादुर किराना पसल र केकैमायाको शव अर्कै कोठामा भेटिएको थियो ।

प्रहरीका अनुसार एकेन्द्र सार्कीको ऋण लाख रुपैयाँभन्दा बढी पुगिसकेको थियो । त्यसमध्ये ५० हजार जेठभित्र तिर्नुपर्ने थियो । सडकमा काम गर्ने उनी बेलाबेला किनमेलका लागि मानबहादुर दम्पतीले सञ्चालन गरेको पसलमा जान्थे । त्यसक्रममा केकैमायाले लगाएको सुनका गहनाहरू देखेपछि लुटपाट गर्ने उद्देश्यले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

७ जेठको मध्यरातमा साबुन तथा स्याम्पु किन्ने बहाना बनाएर पसलमा पुगेका उनले केकैमाया र मानबहादुरको घन तथा फलामको रडले हानेर हत्या गरेका थिए । हत्या गरिसककेपछि उनले पसलको घर्राबाट नगद, रिचार्ज कार्ड, मानबहादुरको मोबाइल र केकैमायाले लगाएको सुनको गरगहना लुटेर भागेका थिए । घटनापछि अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसमेत झिकाइएको थियो।

प्रहरीले विशेषज्ञ चिकित्सकको सहयोग, स्थानीय बासिन्दाहरूसँग सोधपुछ, सूचना संकलन, कारागारबाट छुटेका व्यक्तिको विवरण संकलन, खराब आचरण भएका व्यक्तिको विवरण संकलन लगायतको काम गरेको थियो। सोहि क्रममा सडक निर्माणसम्बन्धी कामदारको पनि विवरण संकलन गरी अनुसन्धानको घेरामा तानेको थियो। प्राविधिक विश्लेषण, सिसिटिभी फुटेज समेतको मद्दतबाट प्रहरीले एकेन्द्रलाई फेला पारेको थियो। एकेन्द्र महाभारत गाउँपालिकामा वडा ४ को सडक निर्माण कामका लागि त्यहाँ आएका थिए।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोगमा पक्राउ गरिएका एकेन्द्रलाई ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार