शिक्षामन्त्री सुमना श्रेष्ठले सांसदद्वय राजन केसी र योगेन्द्र मण्डलले बुधवारको प्रतिनिधिसभा बैठकमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाएकी छिन् । कांग्रेस सांसद केसीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले धेरै बजेट आफ्नै गृहजिल्ला सुनसरीमा लगेको आरोप लगाएका थिए ।
‘महिला (मन्त्रालय) को सम्बन्धमा अन्याय भएको छ । सत्तापक्षको माननीयले पनि केही भन्नुहोला । म त बजेटमा सुनसरी मात्रै देख्छु । उहाँले १ अर्ब ६० करोडको बजेट पाउनुभएको रहेछ,’ सांसद केसीको भनाइ थियो । आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सांसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र सङ्कीर्ण सोच भएको हुने भन्ने कूतार्किक अभिव्यक्ति दिएको शिक्षामन्त्री श्रेष्ठले बताइन् ।
स्वतन्त्र सांसद मण्डलले वैवाहिक बलात्कार जस्तो जघन्य अपराधकाबारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’ को रूपमा चित्रण गरेको भन्दै उनले आपत्ति जनाएकी हुन् । ‘समाजका संवेदनशील विषयमा अगुवा भनिएकाबाटै हुने यस्ता गैरजिम्मेवार र ‘हल्का’ टिप्पणीले समाजलाई कुन दिशामा लैजान्छ भन्ने विचार गर्न जरुरी छ,’ उनले लेखेकी छन्, हिजो सांसद राजेन्द्र केसीले सदनमा सम्बोधन गर्दा एउटा वाक्यांश प्रयोग गर्नु भएछ – “सम्भवतः पुरुष मन्त्री भएको भए यो अवस्था आउँथेन होला । तपाईंले आफ्नो क्षेत्रमात्रै हेर्नुभएको छ ।“ आफूलाई चित्त नबुझेको कुरा भन्दै गर्दा सांसद केसीले सम्पूर्ण महिलालाई नै असक्षम र संकिर्ण सोच भएको हुने भन्ने कुतार्किक अभिव्यक्ति दिनु भएको छ । यसै गरी अर्का सांसद योगेन्द्र मण्डलले वैवाहिक बलत्कार जस्तो जघन्य अपराधका बारे बोल्दै गर्दा नारीलाई कसैको ‘रहर पूरा गर्ने साधन’को रुपमा चित्रण गर्नु भएको छ । समाजका संवेदनशील विषयमा अगुवा भनिएकाबाटै हुने यस्ता गैरजिम्मेवार र ‘हल्का’ टिप्पणीले समाजलाई कुन दिशामा लग्छ भन्ने विचार गर्न जरुरी छ ।
उहाँहरुको टिप्पणीले मलाई स्तब्ध बनाएको छ । उहाँहरुको कुतर्कप्रति मेरो घोर आपत्ति छ । समाजको चेतनास्तर यो अवस्थामा हुनुको केही दोष देशको शिक्षा प्रणालीलाई पनि जान्छ । शिक्षित हुनुको अर्थ कक्षा उत्तिर्ण हुनु, गुणनका तालिका कण्ठ गर्नु र प्रमाणपत्र पाउनु मात्र होइन । शिक्षित हुनुको अर्थ जान्नु पनि हो – सामाजको विविधता र पहिचानको विविधतालाई सम्मान गर्न जान्नु, के बोल्नुहुन्न र कस्तो मान्छे बन्नुहुन्न भनेर जान्नु पनि हो । असल मानिस र जिम्मेवार नागरिक हुनु हो शिक्षित हुनु भनेको । हिजोका ती अभिव्यक्ति नजान्नुको परिणाम हुन् – सम्मानित सदनमा सांसद सामुन्ने भएको बजेट छलफलमा निर्धक्कका साथ राख्नु भएको स्त्रीद्वेषी टिप्पणी । यसबाट थप पुष्टि हुन्छ, कुनै पनि व्यक्तिलाई उचित ज्ञान दिनका लागि सम्पूर्ण समाज नै लाग्नुपर्छ ।
सांसदज्यूहरुका अभिव्यक्तिको भने अब के गर्ने – रेकर्डमै राखेर भावी पुस्तालाई नेपालको इतिहासमा कुन तहसम्म ओर्लिएर स्त्रीद्वेषी हुन सक्छ भन्ने दस्तावेज बनाउने र पदले मात्र कोही माननीय बन्दैन भन्ने उदाहरण दिने वा रेकर्डबाट हटाएर हाम्रो “सभ्य” सदनको ढोंगलाई निरन्तरता दिने ? श्रेष्ठले प्रश्न गरेकी छिन् ।