ताप्लेजुङमा पहिरोले फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बुको घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ । अविरल वर्षासँगै झरेको पहिरोले एकै परिवारका चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेक छन् । प्रहरीका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा, कान्छी आमा र २ बहिनी हुन् । प्रहरीका अनुसार मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाउँदा उनीहरुको पहिरोमै पुरिएर मृत्यु भएको हो।
‘उपाध्यक्षको परिवारका चार जनाको मृत्यु भएको छ, थप खोजी जारी छ’ एक प्रहरी अधिकारीले भने, ‘ पहिरोले दुई वटा घर बगाएको छ ।’ पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् । घाइतेहरुलाई उदार गरेर अस्पताल लगिएको जनाइएको छ । राती सुतिरहेका बेला एक्कासी पहिरो खसेको थियो ।
रातको समयमा भएका कारण भाग्नसमेत नभ्याइएपछि ४ जनाको मृत्यु भएको स्थनियहरुले बताएका छन् ।