Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

स्थानियद्धारा कावासोती नगरपालिकामा तोडफोड


नाला पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको घटनाको विषयमा आन्दोलनमा उत्रिएका प्रर्दशनकारीले पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा तोडफोड गरेका छन् । बिहीबार कावासोतीको फलफूल चोकमा निर्माणाधीन नालाको माटोले पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको थियो ।

झण्डै २ सय जना स्थानीयले नगरपालिका बाहिर नाराबाजी गर्दै ढुंगा तथा इट्टा प्रहार गर्दा नगरपालिका भवनको पूर्वतर्फको झ्यालढोका फुटेको नगरपालिका स्रोतले जनाएको छ। बिहीबार नाला पुरिएर भएको दुर्घटनामा कावासोती नगरपालिका ५ की सेती राना, तानमाया गाहा र चमेली सिंजालीको मृत्यु भएको थियो । मृतकहरुको शव मध्यबिन्दु अस्पतालमा राखिएको जनाइएको छ।

वर्षा लागेपछि काम सुरु गरेको, नगरपालिकाले उचित अनुगमन नगरेको तथा कार्यस्थलमा मजदुरको सुरक्षामा उचित ध्यान नदिएको भन्दै स्थानीयले बिहीबार राति नै नगरप्रमुख विष्णुप्रसाद भुषालको घर घेराउ गरेर नाराबाजी गरेका थिए ।

नगरपालिका स्रोतका अनुसार कावासोती नगरपालिकाको शुक्रबार बिहान बसेको कार्यपालिकाको आकस्मिक बैठकले मृतक महिलाको शोकमा आज बिदा दिने निर्णय गरेपछि कार्यालय बन्द गरिएको छ । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता पनि नगरपालिकाले गरेको छ ।

नगरपालिकाले ढल निकासका लागि वैशाख ३० गते सम्झौता गरेर उपभोक्ता समितिमार्फत कावासोतीको थाना चोकदेखि पूर्वतर्फ ढल निकासको काम अगाडि बढाएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार