
भेरी नदीमा पौडी खेल्नेक्रममा दुई जना बेपत्ता भएका छन्। शनिबार सुर्खेतको वीरेन्द्रनगर–२ चोक्टे नजिकबाट पौडी खेल्न नदीमा पसेका दुई जना बेपत्ता भएका हुन्। उखरमाउलो गर्मी बढेपछि गर्मी छल्नका लागि भेरी नदीमा पौडी खेल्न गएका वीरेन्द्रनगर–२ का १९ वर्षीय विनोद केसी र १७ वर्षीय भुवन केसी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु शनिबार दिउँसो पौने ४ बजेबाट बेपत्ता भएका हुन् । उनीहरु भेरीमा बेपत्ता भएपछि प्रत्यक्षदर्शीहरुले प्रहरीलाई खबर गरेका थिए । खबर पाउँनासाथ खटिएका प्रहरी टोलीले उनीहरुको खोजी कार्य सुरु गरेका थिए । प्रहरीका अनुसार आइतबार बिहानसम्म पनि पत्ता नलागेपछि उनीहरूको खोजी गर्न अहिले गोताखोर परिचालन गरिँदैछ ।
गत हप्ता शनिबार पनि धादिङको गजुरी गाउँपालिका वडा नं. ५ घाटवेशीमा गर्मी छल्नका लागि त्रिशुलीमा पौडी खेल्न पसेका दुइ बालक बेपत्ता भएका थिए । बेपता भएका दुइमध्ये १५ वर्षीय युनिक सुवेदीको शव भोलिपल्ट आइतबार कुरिनटारस्थित शिक्षालयबाट गोताखोर टोलीले फेला पारेका थिए । अर्का बालक १३ वर्षीय रिदम रोइला अझै बेपता भएका छन् ।
एक हप्ता पुग्दा समेत उनको अवस्था अज्ञात नै रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । गर्मी लागेसँगै गर्मी छल्नका लागि खोला, नदी पोखरी लगायतका स्थानहरुमा पौडी खेल्ने क्रममा धेरैले ज्यान गुमाउने गरेका छन् ।
पौडी खेल्दा खोला नदीमा नुहाउँदा सर्तकता अपनाउन सम्बन्धित निकायले बारम्बार आग्रह गर्दै आएको छ ।