उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गर्दै दायर रिटको आज सुनुवाइका लागि पेसी तोकिएको छ । आज यो रिट न्यायाधीशद्वय सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको छ ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नता देखिने गरी जाहेरी समेत परेको दाबी गर्दै अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिट सुनुवाइका क्रममा रहेको छ । यस अघि उक्त रिट हेर्न नमिल्नेमा परेपछि सरेको थियो । इजलासबाटै सुनुवाइको मिति तोकिएकाले आजका लागि पेशी तोकिएको जनाइएको छ ।
महान्यायाधीवक्ता कार्यालय गृहमन्त्री लामिछानेलाई क्लिनचिट देखिने गरी कुनै पनि जिल्लामा अनुसन्धान, अभियोगपत्र र जाहेरी नभएको भनी पत्र लेखेपछि अधिवक्ता भट्टराईले रिट दायर गरेका थिए । सुरुमा उक्त रिट दरपिठ भएको थियो । पछि न्यायाधीश टेकनारायण ढुङ्गानाको इजलासले दर्ता गर्न आदेश गरेपछि पुनः दर्ता भएको थियो ।
रिटमाथि पहिलो सुनुवाइ गर्दै सर्वोच्चले पोखरादेखि रुपन्देहीसम्म जाहेरी दर्ता तथा अभियोग पत्रसम्म मगाउने आदेश गरेको थियो । त्यस्तै सर्वोच्चमा पोखराको सूर्य दर्शन र बुटवलको सुप्रिम सहकारी ठगी बारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले गरेको अध्ययन प्रतिवेदन समेत पेस भइसकेको छ ।
यता दायर रिटको सुनुवाइका लागि पेसी तोकिरहँदा उता गृहमन्त्री लामिछाने भने राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो स्थापना दिवस मनाउन व्यस्त छन् ।