Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

नयाँले पुराना दललाई अपमान गरिरहेको प्रधानमन्त्री ‘प्रचण्ड’ को आरोप


प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले नयाँले पुराना दलहरूलाई सम्मान नगरेको टिप्पणी गरेका छन्। काठमाडौंमा शुक्रबार नेपाल बुद्धिजीवि संगठनले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पार्टीहरूले दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ दलहरूले पुराना दललाई अपमान गरिरहेको आरोप लगाएका हुन्।

प्रधानमन्त्री प्रचण्डले पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरुले राख्न जरुरी रहेको बताए। ‘नेपालका पार्टी र नेताहरु कोही पनि ठिक छैनन् त्यसकारण नेपालमा बस्नुभन्दा बाहिर नै जानु ठिक छ भन्ने मनोविज्ञान वा मनोभावना वा त्यसलाई उत्प्रेरित गर्ने कोसिस भइरहेको छ,’ उनले भने, ‘पार्टीहरुले दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको हो। अहिले केही नयाँ मानिसहरु हामी नयाँ, हामीले गर्छौं भन्ने ठाउँ दिएको पनि तिनै ठूला पार्टीहरुको त्याग, तपस्या र बलिदान हो।’उनले नयाँ दलले पुरानालाई सम्मान गर्नुपर्ने पनि बताए।

‘नयाँ आएर बोल्नेहरुको जिम्मेवारी हुन्छ कि पुराना पार्टीहरुले लामो संघर्ष, जेलनेल, यातना, भूमिगत यो सबै गरेर नलडेको भए लोकतान्त्रिक गणतन्त्र र ती नयाँ मान्छेहरु आउने वातावरण बन्न सम्भव थियो त?,’ उनले प्रश्न गरे, ‘उनीहरुले त पुरानाहरुलाई सम्मान गर्नुपर्ने, तपाईंहरुको त्याग र बलिदानको परिणाम हामी जस्ताले पनि अहिले अवसर पायौं भनेर प्रशंसा गर्नुपर्ने ठाउँमा आफूलाई जन्म दिने बाबुआमालाई गाली गरेको जस्तै लाजमर्दो लाग्छ नि!’

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्ने गरी काम गरिरहेको बताएका थिए। अहिले पनि आफू ’जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको’ उनको भनाइ छ।

‘तपाईं हामी कताकता पहिलाको जस्तो सक्रियता जीवन देख्ने पार्टी, आन्दोलन देख्ने लोकतन्त्रमा त्यसमा कमी आएकै छ। त्यो हामीले आत्मसमीक्षा गर्नुपर्छ। निराश हुनु हुँदैन। कयौँ साथीहरुलाई लाग्छ, पार्टी नेतृत्वको हैसियतले नेतृत्वले के गरिरहेको छ? पहिलाको जस्तै छ कि अर्कै छ कि, बिग्रियो कि, साँच्चै हो की होइन भन्ने खालले विभिन्न रुपमा तपाईंहरुको मनमा पनि मुख्य नेतृत्वप्रति पनि प्रश्न उठ्छन् होला,’ उनले भने, ‘बेस्सरी आलोचना हुँदा नमिठो लाग्छ होला। म रातदिन जनयुद्धमा भन्दा कम खटेकै छैन, अझ बढी खटेको छु। बरु जनयुद्धमा मेरो जीवन सरल थियो, अहिले अझ बढी खट्नुपर्ने।’ उनले वृहत्तर एकतातिर पनि आफू अघि बढिरहेको बताएका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार