Logo
२०८१, १९ आश्विन शनिबार
|  Sat Oct 5 2024

जंगली च्याउ खाएर मृत्यु हुनेको संख्या बढ्दो


जंगली च्याउ खाँदा मकवानपुरमा एक हप्तामा ३ जनाको मृत्यु भएको छ । विषालु जंगली च्याउलाई तरकारी बनाएर खाँदा ३ असार यता मकवानपुरको राक्सिराङ गाउँपालिका, कैलाश गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको १९ जना बिरामी भएका थिए । जसमध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

कैलाश–९ नामटारकी २५ वर्षीया निरुमाया रुम्बाको सोमबार मृत्यु भएको छ । निरूमायालाई उपचारका लागि ३ असारमा चितवन मेडिकल कलेज लगेकोमा ९ असारमा उपचार गराउन नसक्ने भन्दै मकवानपुरस्थित हेटौंडा अस्पतालमै ल्याएको थियो । उनको सोमबार राति १० बजे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

३ असारमा कैलाश गाउँपालिका–९ नामटारका विनोद लामालगायत परिवारका सदस्यले जंगली च्याउ खाँदा बिरामी परेका उनको छोरा ४ वर्षीय दिपेश लामाको मृत्यु भएको छ । हेटौंडा अस्पतालबाट थप उपचारका लागि चितवन लगिएका लामालाई परिवारले आफू खुशी घर लगेकोमा ८ असार साँझ बाटोमै मृत्यु भएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

राक्सिराङ गाउँपालिका–७ दुगुवाङ बस्ने ५५ वर्षीय बलबहादुर प्रजाको असार ९ गते मृत्यु भएको प्रहरीले जनाएको छ । उनको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो । मृतक प्रजाको परिवारका अन्य चार जनाको अस्पतालमा उपचार जारी रहेको जनाइएको छ ।

उनकी श्रीमती ४५ वर्षीया जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, अर्की छोरी ८ वर्षीया सविना प्रजा र छोरा १० वर्षीय सुशल प्रजाको स्वास्थ्य अवस्था सुधार भइरहेको प्रहरीले जनाएको छ । १० असारमा राक्सिराङ गाउँपालिका–८ लाचेका ४ जना जंगली च्याउ खाँदा बिरामी परेको मकवानपुर प्रहरीले जनाएको छ ।

उनीहरूको भरतपुर अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। ७ असारमा जंगली च्याउ खाँदा मकवानपुरगढी गाउँपालिका–६ सानुसल्ले र ५ नम्बर वडाको कालिवन बस्ने ८ जना बिरामी भएका थिए । उनीहरू हेटौंडा अस्पतालमा उपचारपश्चात् घर फर्किइसकेका छन ।

तनहुँको आँबुखैरेनी गाउँपालिका –६ हिलेखर्कमा पनि असार १ गते जंगली च्याउ खाँदा ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । प्रहरीका अनुसार च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जंगलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए । अन्य चारजनाको अवस्था भने उपचार पश्चात खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

वर्षायाम लागेसँगै जंगलमा उम्रने पहिचान नभएका र नौलो च्याउ खाएर वर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन् । जंगलमा उम्रेका र पहिचान नभएका नयाँ र अनौठा देखिने च्याउ नखान सञ्चार माध्यम लगायत सम्बन्धित निकायले वर्षेनी ध्यानकर्षण गराउँदै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार