Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

नेपालगन्ज विमानस्थलको पार्किङमै रहेको जहाज हराएपछि…


सोमबार दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा तरङ्गित बन्न पुगेको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि यसले तरङ्ग ल्याएको हो । तर, वास्तविकता सोमबार कुनै जहाज हराएको छैन ।

तारा एयरसँग हाल तीन वटा जहाज रहेका छन् । दुई वटा जहाज काठमाडौँमा नै रहेको र सोमबार एउटा जहाजले नेपालगन्ज–सिमिकोट उडान भरेको कम्पनीले जानकारी दिएको छ । दिउँसो १ः २७ बजे नेपालगन्ज अवतरण गरेको जहाज अहिले सोही विमानस्थलमा पार्किङमा रहेको जनाइएको छ ।

यता काठमाडौँमा रहेका दुईवटा जहाजमध्ये एउटा ग्राउण्डेड रहेको छ भने अर्को लुक्लाका लागि उडान तालिका रहेकोमा खराब मौसमका कारण उड्न नसकेर त्रिभुवन विमानस्थलमा नै पार्किङमा रहेको छ । तर, कम्पनीलाई जोडेर पोखराबाट जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको भन्ने हल्ला एकाएक फैलिएपछि कम्पनी तनावमा परेको छ ।

सामाजिक सञ्जालमा फैलिएको अफवाहबाट आफूहरू आश्चर्यचकित र तनावमा परेको कम्पनीका एक सदस्यले बताए । तारा एयरको कुनै पनि जहाज नउडेको र नहराएको जानकारी दिँदै उनले कम्पनीबारे फैलाइएको अफवाहप्रति सचेत हुन सबैलाई आग्रह गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार