Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

बालेन र ओली टसलको रहस्य, सुकुम्बासी वस्तीको भेल पनि ओलीको थाप्लोमा !


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पछिल्ला केही सातायता निरन्तर एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिन थालेपछि बालेन र ओलीबीचको टसलको भित्री रहस्यले धेरैमा कौतुहलता सृजना गरेको छ । केहीदिनयता परेको अबिरल वर्षाका कारण काठमाडौंका सुकुम्बासी बस्तीमा पसेको भेल र त्यसले वस्तीमा पारेको क्षतीको दोष पनि मेयर बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दिएपछि उनीहरुबीचको भित्री बेमेलता के हो भन्ने कुराले धेरैमा कौतुहलता सृजना गरेको हो । सुकुम्बासी वस्तीमा भेल पसेपछि एमाले अध्यक्ष ओलीलाई सम्बोधन गर्दै मेयर बालेनले सामाजिक सञ्जाल फेसबुकमा यस्तो स्टाटस लेखेका थिए :

माननीय केपी ओलीज्यू,
आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो ?
अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी रु उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो रु उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?
काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धुुमा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।

काठमाडौंको नदी किनाराका सुकुम्वासी बस्तीमा पसेको भेलले पारेको क्षतीको दोष पनि एमाले अध्यक्ष ओलीलाई नै मेयर बालेन शाहले किन दिए ? मेयर बालेन शाह प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबादुर देउवामाथि किन खनिएनन् र उनीहरुको नाम यो सन्दर्भमा लिएनन् ? अनि अघिपछि पनि मेयर बालेन शाहका स्टाटस किन प्रचण्ड र देउवा लक्षित देखिदैनन् जति ओली लक्षित देखिन्छन् ? यो प्रश्न यतिबेला जनजनका मनमा उब्जिरहेको छ । खासमा बालेन शाह काठमाडौं नदी किनाराका सुकुम्बासी वस्ती हटाउन चाहन्थे । त्यही उदेश्यका साथ उनले सुकुम्वासी वस्तीमा डोजर चलाउन पनि केही महिना पहिले निर्देशन दिएका थिए ।

मेयर बालेन शाहको निर्देशनमा सुकुम्वासी वस्तीमा डोजर पनि पुगेको थियो । तर, त्यहाँ डोजर चल्न सकेन । एमालेले सुकुम्वासी वस्तीका स्थानीयलाई उचालेर डोजर चलाउँन नदिएको र नगरप्रहरीमाथि स्थानीयले आक्रमण गरेको उनको बुझाई थियो । त्यही बुझाईका कारण मेयर बालेन शाह एमाले अध्यक्ष ओलीमाथि त्यतिबेलैदेखि खनिन थालेका हुन् । अझ त्यसमा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले मेयर बालेन शाहलाई इंगित गर्दै विभिन्न सार्वजनिक कार्यक्रमहरुमा फुसाको छानामा डोजर चलाउँने बुद्धी भएका नेता त काठमाडौंमा छन् भन्ने अभिव्यक्ति दिएपछि मेयर बालेन शाह चिढिएका थिए । न्युरोडको फुटपाथ निर्माणदेखि लिएर महानगरपालिकाको बजेट सम्मका विषयमा एमालेबाट निर्वाचित वडाध्यक्षहरुले अबरोध गरेको बुझाई मेयर बालेन शाहमा छ । त्यसैले मेयर बालेन शाह एमाले र त्यसमा पनि पार्टी अध्यक्ष ओलीप्रति नै आक्रामक रुपमा प्रस्तुत हुन थालेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
विचार