
रास्वपाका मन्त्रीहरुले मन्त्री क्वाटर छाड्न थालेका छन् । केही मन्त्री क्वाटर छाडेर बाहिरिइसकेका छन् भने केही प्रक्रियामा रहेका छन् । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्री क्वाटर छोडेका हुन् ।
श्रेष्ठले सोमबारबाट विधिवत रूपमा क्वाटर छाडेको उनी निकट स्रोतले बताएको छ । स्रोतका अनुसार श्रेष्ठले मन्त्रालयसँग सम्बन्धित कामबाहेकमा गाडी र सुरक्षा संयन्त्रको प्रयोग नगरेको र शुक्रबारबाट मन्त्रालय पनि जान छाडेका छन् । श्रेष्ठले आजबाट विधिवत् रुपमा क्वाटर छाडेको जनाइएको छ ।
रास्वपाका सबै मन्त्रीहरुले क्वाटर छाडिसकेको तर विधि पुरा गर्न बाँकी नै रहेको र श्रेष्ठले आजबाट विधिवत रुपमा प्रकृया पुरा गरेर छाडेको स्रोतको भनाई छ ।
नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाउने निर्णय गरेपछि राजनीतिक तरलता सिर्जना भएको छ । एमालेले सरकार छाडेर समर्थन फिर्ता गरेपछि सरकार स्पष्ट अल्पमतमा छ । जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
यस्तो अवस्थामा रास्वपा मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएको छ । अल्पमतमा रहेका प्रचण्डले असार २८ गते विश्वासको मत लिँदैछन् । यता, एमाले चाहिँ प्रचण्डलाई राजीनामा दिन दबाब दिइरहेको छ ।