Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

रवि र प्रचण्डको दोस्ती, जता प्रचण्ड उतै रवि


विश्वासको मत पाउन नसकेर पदमुक्त भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रचण्डले विश्वासको मत पाउन नसकेपछि झण्डावाल गाडी संसदमै छाडेर प्राइभेट गाडीमा हुँइकिएका रवि लामिछानेको दोस्ती बेजोडकै हुने देखिएको छ । रवि लामिछाने दुईपटक गृहमन्त्री भए र दुबै पटक प्रचण्ड नेतृत्वकै सरकारमा रहे ।

अघिल्लोपटक ३२ दिन गृहमन्त्रीको कुर्सीमा बसेका लामिछानेले यसपटक १०० दिन कठिनताका साथ बिताए । गृहमन्त्रीको कुर्सीमा बसे लगत्तै उनकै विषयलाई लिएर संसदमा हंगामा भयो । सहकारी ठगीको आरोप दिनहुँ खेप्नुप¥यो । यद्यपि प्रधानमन्त्री प्रचण्डको दह्रो साथ पाएपछि सहकारी प्रकरणमा रवि लामिछानेको आत्मविश्वास ह्वात्तै बढ्यो । सहकारी प्रकरणमा रविको संलग्नता छैन भनेर प्रधानमन्त्रीले नै संसदको रोष्ट्रमबाट भनिदिएको गुण रवि लामिछानेले बिर्सिएको देखिएन । त्यहीभएर होला खल्तीमा राजीनामापत्र बोकेर हिँडिरहका छौं भन्ने रास्वपाका मन्त्रीहरुले अन्तिम समय सम्म नै प्रधानमन्त्री प्रचण्डलाई साथ दिए । कुनैबेला प्रचण्डलाई संसद नै छिर्न नदिने घोषणा सहित चितवनको निर्वाचन क्षेत्र रोज्न पुगेका रवि लामिछाने राजनीतिक यात्राका क्रममा प्रचण्डप्रति यति नतमस्तक हुँदै गएकी सुनेको प्रचण्ड र भोगेको प्रचण्ड उनका लागि आकाशपातालको फरक भयो । प्रचण्डसँग काम गर्न पाएकोमा उनले गर्वको महसुस मात्रै गरेनन् त्यसबापत प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद नै दिए ।

एमाले कांग्रेस सहितको गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत नपाउँने निश्चित थियो । आफूहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपनि या नदिएपनि प्रधानमन्त्री प्रचण्डको पद गुम्छ भन्ने रवि लामिछानेहरुलाई थाहा थियो । तैपनि रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डको प्रशंसा गर्दै विश्वासको मत दिने घोषणा संसदको रोष्ट्रमबाट गरे । यो भनेको प्रचण्डप्रति रवि लामिछानेको अगाध प्रेम हो । त्यसो त प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने बेलामा नै रास्वपाका नेताहरुले प्रचण्डको क्रान्तिकारिताबाट प्रभावित भएको बताएका थिए । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनपर्नाको प्रष्टिकरण त्यतिबेला सञ्चार माध्यममा दिँदै रास्वपा नेताहरुले प्रचण्डमा केही गरौं भन्ने हुटहुटी आफूहरुले देखेका कारण सरकारमा जाने निधो गरेको बताएका थिए ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएर गृहमन्त्री रवि लामिछाने सहित रास्वपाका मन्त्रीहरुले के गरे के गरेनन् त्यो भोलिका दिनमा थप चर्चा हुँदै जाला । तर, गृहमन्त्रीका रुपमा रवि लामिछानेले जे जे गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ती प्रतिबद्धता भने भाषणमा मात्रै सिमित रहे । आफ्ना पूर्व व्यवसायिक साझेदार जिबी राईलाई समातेर देखाउँन प्रतिपक्षी दल सहित जनस्तरबाट उनलाई बारम्बार दबाब दिइयो । तर, त्यसमा उनी असफल भए । उनले चाहँदाचाहँदै समात्न सकेनन् या समात्नै चाहेनन् यो उनै जानून् । आफू सरकारमा भए केही घण्टामै निर्मला पन्तका हत्यारा पत्ता लगाउँने अभिव्यक्ति कुनैबेला जोडतोडका साथ दिएका लामिछानेले यो सम्बन्धी भाषण निरन्तर गरे । तर, कुनै उपलब्धि निकाल्न सकेनन् । बेचन झा को पक्राउमा मख्ख परेका लामिछानेले त्यसैलाई आफ्नो कार्यकालको ठूलो उपलब्धिका रुपमा प्रचार गरे । बेचनको पक्राउकै कारण प्रचण्ड नेतृत्वको सरकार ढाल्ने काम भएको आरोप पनि उनले संसदबाट लगाए ।

गृहमन्त्रीका रुपमा आफूलाई काम गर्न प्रधानमन्त्री प्रचण्डले निर्बाध रुपमा दिएको भन्दै प्रचण्डको व्यापक प्रशंसा गरेका लामिछाने अब प्रचण्डसँगै संसदमा प्रतिपक्षीको कुर्सीमा बस्दैछन् । सरकारमा रहँदा जमेको दोस्ती अब प्रतिपक्षी कित्तामा पनि जम्ने निश्चित छ । प्रचण्ड सरकारमा भए सरकारमा जाने र प्रतिपक्षमा भए प्रतिपक्षमा जाने जुन अघोषित शैली रवि लामिछानेको देखिन्छ यसले भने रविका आलोचकहरुलाई आलोचनाका लागि थप खुराक दिएको छ । हुन त संयोग होला तर, जताजता प्रचण्ड त्यतै त्यतै रवि लामिछाने भएको अवस्था भने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार