Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

ओली आजै प्रधानमन्त्री बन्दै


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्ति गर्ने तयारी राष्ट्रपति कार्यालयले गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई नियुक्त गर्न लागेका हुन्। शपथ भने सोमबार बिहान ११ बजे हुने शीतल निवास स्रोतले जानकारी दिएको छ ।

हालसम्म प्रधानमन्त्रीमा ओलीको मात्र दाबी पेस भएको छ । संविधानको धारा ७६ (२) बमोजिम नियुक्त गर्न नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाको समर्थन लिएर शुक्रवार साँझ ओलीले दाबी पेस गरेका थिए। राष्ट्रपतिले दाबी पेस गर्न आइतबार साँझ ५ बजेसम्मका लागि समय सीमा दिएका छन् ।

शीतल निवास स्रोतका अनुसार प्रधानमन्त्रीको नियुक्ति दाबी पेस गर्न दिइएको समय सीमा सकिएपछि हुने र नियुक्तिपछि शपथ तय हुने छ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेका ओलीले माओवादीसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरेपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढेको हो ।

गत असार १७ गते मध्य राति कांग्रेस–एमालेबिच भएको समझदारीले दुई दललाई एक ठाउँमा ल्याएको छ । तर, सहमति अझै गुपचुप राखिएको छ । ओली चौथो पटक मुलुकको प्रधानमन्त्री बन्न लागेका हुन्।

यसअघि २०७२ साल असोज २५, २०७४ फागुन ३ र २०७८ सालमा प्रधानमन्त्री बनेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार