
निर्वतमान प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु नेतृत्वको तेस्रो पटकको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेलेर सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद दिएका छन् । प्रचण्डले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै धन्याबाद दिएका हुन् ।
उनले लेखेका छन्ः तेस्रोपटक प्रधानमन्त्रीका रूपमा सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित झण्डै साढे अठार महिना देश र जनताको सेवामा समर्पित हुने अवसर मिल्यो। मेरो नेतृत्वको सरकार सफल पार्न महत्वपूर्ण भूमिका खेल्नुहुने माननीय मन्त्रीज्यूहरू, सङ्घीय संसदका माननीय सदस्यहरू, संवैधानिक आयोगका पदाधिकारीज्यूहरू, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लगायत सम्पूर्ण राजनीतिक दलहरू, राष्ट्रसेवक कर्मचारीहरू, सुरक्षा निकाय, स्वकीय र निजी सचिवालय टीम, निजी क्षेत्र, कानुन व्यवसायीहरू, बौद्धिक क्षेत्र, नागरिक समाज, सामाजिक संघसंस्था, अन्तर्राष्ट्रिय समुदाय, गैरआवासीय नेपालीहरू लगायत आम जनसमुदायमा सहृदय धन्यवाद व्यक्त गर्दछु।
गत असार १७ गते मध्य राति कांग्रेस–एमालेबिच समझदारी भएको थियो । एमाले र कांग्रेस मिलेर अगाडी बढ्ने भएपछि ‘प्रचण्ड’ले यही असार २८ गते प्रतिनिधिसभामा पुनः विश्वासको मत मागेका थिए । प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।