Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

पूर्वराज्य मन्त्री हत्या प्रकरणः बाँस झाङमा भेटियो फरसा


पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा प्रयोग भएको हतियार भेटिएको छ । रायको चन्द्रपुर गाउँपालिका–१ स्थित घरबाट उत्तरपश्चिम तर्फको करिब ५० मिटर टाढा रहेको बाँसको झाङमा हतियार भेटिएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार हत्यामा प्रयोग भएको घरेलु हतियार फरसा भेटिएको हो। रगतले लत्पतिएको अवस्थामा बाँसको झाङमा हतियार भेटिएकाले रायको हत्यामा उक्त हतियार प्रयोग भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप) बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए । हत्या भएको आइतबार राति उनको घरमा तीन जनाको समूह जग्गाको विवाद मिलाइदिन भन्दै आइपुगेको समेत पाइएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले अहिले घटनाको अनुसन्धान गरिरहेका छन् । रायको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार