सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले एउटा अनौठो विषयमा नियमापत्ति जनाए । उनको नियमापत्ति अरु केही विषयमा नभएर पुष्पकमल दाहालको नामका विषयमा थियो । सत्तापक्षको कुर्सीमा बसेका सांसद किरण शाहले बोल्ने क्रममा कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालाई सम्झिएर थप केही बोल्न खोजिरहेका थिए । बोल्ने क्रममा उनको जिब्रो चिप्लियो । कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल भन्नुपर्नेमा उनले पुष्पकमल दाहाल भने ।
भर्खरै सत्तापक्षको कुर्सीबाट प्रतिपक्षको कुर्सीमा पुगेको माओवादीलाई यत्ति भएपछि अरु के चाहियो ? माओवादी संसदीय दलका प्रमुख सचेतक हितराजक पाण्डे जुरुक्क उठे । र, हात हल्लाउँदै सभामुखसँग समय माग गरे । सभामुखले के भयो माननीयज्यू भन्दै किरण शाहलाई रोकेर हितराज पाण्डेलाई बोल्न समय दिए । माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले मेरो नियमापत्ति छ भन्दै बोल्न थाले । उनले के के न विषयमा बोल्लान् भन्ने सोचेका संसदका अन्य सदस्यहरु त्यतिबेला अचम्मित भए जब हितराज पाण्डेले किरण शाहको चिप्लिएको जिब्रोलाई नै नियमापत्तिको विषय बनाए ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति जनाउँदै यत्ति बोलेपछि सभामुख देवराज घिमिरेले किरण शाहलाई कुरो प्रष्ट पार्न सभामुखको कुर्सीबाट रुलिङ गरे । सभामुखले नै कुरो प्रष्ट पार्न भनेपछि सांसद किरण शाहले पुष्पलाल भन्न खोजेको पुष्पकमल दाहाल भयो भन्दै आफ्नो प्रष्टिकरण दिए ।
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको नाम लिँदा किरण शाहको मात्रै जिब्रो चिप्लिएको थिएन अरु धेरै सांसदको पनि जिब्रो चिप्लिएको थियो । तर, माओवादी केन्द्रले यही विषयलाई संसदको इस्यु बनायो ।
कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको नाम लिँदा धेरै सांसदको जिब्रो चिप्लियो । बोल्दै जाँदा जिब्रो चिप्लिनु त्यति धेरै नौलो होइन । तर, जिब्रो चिप्लिएको हो भन्ने थाहा हुँदाहुँदै त्यसैलाई नै मुद्दा बनाउनु भनेको चाहिँ के निहुँ पाउँ कनिका बुकाउँ भने जस्तो मात्रै हो ।