
न्यूरोडमा फुटपाथ विस्तार गर्ने कार्यलाई लिएर चर्को विरोध भएपछि काठमाडौं महानगरपालिकाले केहि समयका लागि स्थगित गर्ने भएको छ । महानगरपालिका र न्यूरोडका स्थानियबीच सहमति भएसँगै निर्माण कार्य मंसिर २ गतेसम्मका लागि स्थगित भएको हो ।
सोमबार महानगरको कार्यालयमा मेयर बालेन्द्र शाह (बालेन), उपमेयर सुनिता डंगोल, प्रवक्ता नविन मानन्धर, वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनबीच छलफल भएको थियो । छलफल पश्चात मंसिर २ गते समम्मका लागि न्युरोड फुटपाथ विस्तारको काम रोक्ने सहमती भएको जनाइएको छ ।
केहि दिनयता काठमाडौं महानगरपालिकाले न्यूरोडमा फुटपाथ बढाउने कार्य थालेपछि वडा नं २२का स्थानीयबासीले चर्को विरोध गर्दै आन्दोलन गरिरहेका थिए । अवस्था तनावग्रस्त बन्दै गएपछि मेयर बालेन समेत बसेर छलफल गरिएको थियो जसपश्चात मंसिर २ गतेसम्म काम रोक्ने सहमति भएको छ।
अहिले तत्काल काम रोकी उपमेयर सुनिता डंगोलको संयोजकत्वमा समिति बनाउने र उक्त समितिले दिने प्रतिवेदनको आधारमा अघि बढ्ने सहमति भएको काठमाडौँ महानगरपालिका २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले बताएका छन् ।
यसैगरी, वडा नं २४ मा फुटपाथ विस्तार भइसकेकाले यसका असरका बारेमा अब अध्ययन गरिने भएको छ । तर वडा नं २२ र २३ मा सबै वस्तुस्थिति अध्ययन गरेपछि मात्र निचोड आउने र सोहि आधारमा मात्र अघि बढ्ने सहमति भएको हो। स्थानियहरुको विरोधमा सहमती जनाउदै वडा नं. २२ ले केहि दिन सडक बाट नै वडाका सबै कामहरु गरेको थियो ।