
सार्वजनिक बाटो, सडक, विद्यालय, सरकारी कार्यालयलगायतका स्थानमा डीजे साउण्ड सिष्टम बजाए कारबाही हुने भएको छ । सार्वजनिक स्थानमा डिजे लागायतका ठूलो आवाज आउने साउण्ड सिष्टम बजाउँदा विद्यार्थीहरुको पठनपाठन, सरकारी कार्यालयहरुको कामकाजमा असर परेको र ध्वनी प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पारेकोले डीजे लगायत ठूलो साउण्ड सिष्टम बजाए जिल्ला प्रहरी कार्यालय रौतहटले कारबाही गर्ने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक (डीएसपी) एलिजा गिरीले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘समाजमा मानसिक तथा शारिरीक समस्या उत्पन्न भएको, झै–झगडाका घटनाहरू बढेको, विद्यार्थीहरुको पठनपाठनमा, सरकारी कार्यालयहरुको कामकाजमा असर परेको र ध्वनी प्रदूषणले जनस्वास्थ्यमा प्रतिकुल असर पारेको भनी पटक–पटक व्यापक जनगुनासोहरु प्राप्त भएको हुँदा चर्को आवाजमा डीजे साउण्ड सिष्टम नबजाउन हुन अनुरोध गरिएको छ।’
साथै समाजमा प्रतिकूल असर पार्ने खालका डीजे साउण्ड बजाएमा कारबाही गर्ने चेतावनी समेत दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सवारी साधन, औधोगिक प्रतिष्ठान, डिजे, साउण्ड सिष्टम आदिबाट निस्कने ध्वनिका कारण समाजमा मानसिक तथा शारिरीक समस्या उत्पन्न भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले सार्वजनिक स्थानमा यस्ता क्रियाकलाप नर्गन र नगारौँन अनुरोध गरिएको जनाइएको छ ।