केहीदिनअघि दोलखाको प्रसिद्ध भिमेश्वर मन्दिरको शीलामा पसिना आएको थियो । पसिना आएपछि केहीले यसलाई अनिष्टको संकेत भनेका थिए त केहीले यसलाई त्यसरी हेर्न नहुने बताएका थिए ।
दोलखाको भिमेश्वर मन्दिरको शिलामा पसिना आएपछि देशमा कहिले सकारात्मक त कहिले नकारात्मक तर, ठूलै प्रकारको उथलपुथल या दुर्घटना हुन्छ भन्ने मान्यता रहेको छ । सोही मान्यताको चर्चा र हल्लाका बीचमा बुधबार काठमाडौंमा सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमै दुर्घटना भयो । दुर्घटनामा पाइलट बाहेक बाँकी सबैको ज्यान गयो । विमान दुर्घटनाको कारणका विषयमा भोलिका दिनमा हुने अनुसन्धानले पक्कै पनि प्रष्ट पार्ला । तर, भिमेश्वर मन्दिरको शिलामा पसिना आउनु र विमान दुर्घटना हुनुलाई भने केहीले अनौठो संयोगका रुपमा लिएका छन् ।
शिलाको बायाँ भागबाट पसिना आएको खण्डमा जनतालाई हानी पुग्छ भन्ने दोलखाका ज्यष्ठ स्थानीयहरुको भनाई छ । भिमेश्वरको शिलामा आएको पसिना र विमान दुर्घटनालाई संयोग मात्रै मान्ने पनि छन् अनि कतिपय चाहिँ उहिलेदेखिको जनविश्वासलाई यो घटनाले हो कि क्या हो भन्ने बनाइदियो भन्ने पनि छन् । भौतिक विज्ञानलाई मात्रै मान्नेहरुका लागि विमान दुर्घटना र दोलखाको भिमेश्वर मन्दिरको शिलामा आएको पसिनासँग कुनै साइनो सम्बन्ध नरहन सक्छ । तर, भौतिक विज्ञानसँगसँगै लोकोक्ति र जनविश्वासलाई पनि मान्नेहरुका लागि भने यो सन्दर्भले खास अर्थ राख्न सक्छ ।
धार्मिक, सांस्कृतिक, आध्यात्मिक र यो सँगै भौतिक विज्ञानलाई पनि उस्तै नजरले हेर्ने कतिपय अनुसन्धानकर्ताहरुका लागि यो अध्ययनको पाटो बन्न सक्छ । संयोग मात्रै हो या के हो त्यो कुरा आध्यात्मिक र भौतिक विज्ञानका ज्ञाताहरुले नै जान्लान् तर, दोलखाको भिमेश्वर मन्दिरमा विभिन्न समयमा आएको पसिना र केही घटनाहरुले भने धेरैलाई सोचमग्न बनाइदिएको छ ।
१९९० को विनाशकारी भूकम्प, २००७ को राजनीतिक परिवर्तन, २०४५ को भूकम्प, २०५९ को दरबार हत्याकाण्ड लगाएतका समयभन्दा केही दिनअघि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको थियो भन्ने कुराले भने अचम्मित बनाएको छ ।
भीमेश्वर मन्दिरको सिलामा पसिना आएपछि राष्ट्रप्रमुखका तर्फबाट मन्दिरमा क्षमापूजा गर्नुपर्छ भन्ने मान्यता पनि रहेको छ । यसअघिका विभिन्न समयमा पसिना आउँदा राष्ट्र प्रमुखका तर्फबाट क्षमा पूजा गर्ने प्रचलन रहेको र यसपटक पनि त्यसमा ढिलाई गर्न नहुने दोलखा बजारका ज्यष्ठ स्थानीयहरु बताउँछन् ।