सांसद उदय शमशेर जबराले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको क्षमतामाथि प्रश्न उठाएका छन् । अधिकारीले प्राधिकरणको नेतृत्व सम्हाले यता मात्र ७ वटा हवाई दुर्घटनामा परिसकेको तथ्य पेस गर्दै उनले अधिकारीलाई जिम्मेवारी लिन आग्रह गरे ।
‘नेपाली आकाशमा आन्तरिक मात्र होइन विदेशी जहाजहरू पनि दुर्घटनामा परेका छन् । सन् १९९६ यता साना ठुला ६० वटा जहाज दुर्घटनामा परिसकेका छन् । यसमा विदेशी जहाज समेत ८ वटा परे । आन्तरिक त सबै जसो एयरलाइन्स कम्पनीहरूका जहाज दुर्घटनामा परेका छन्’ जबराले भने, ‘प्राधिकरणमा तपाईँकै नेतृत्व यता मात्र ७ वटा जहाज दुर्घटनामा परिसकेका छन् । यसको जिम्मेवारी लिनुपर्दैन ? दोष जति सधैँ अरूलाई नै लगाउने ?’ उनले थप प्रश्न गरे ।
अन्य देशमा यस्तो हुन्थ्यो भने कि त नेतृत्वले आफै राजीनामा दिनुपथ्र्योे कि त सरकारले हटाउँथ्यो । प्राधिकरणको नेतृत्व फेर्ने कुरामा सोच्ने बेला आएको सांसद जबराले संसदीय समितिमा राखे । सौर्य एयरलाइन्स दुर्घटनाको सन्दर्भमा छानबिन आयोग बनिसकेको अवस्थामा स्वार्थ जोडिने हुँदा प्राधिकरणका महानिर्देशकलाई सरकारले निलम्बन गर्नुपर्ने माग समेत जबराले राखेका छन् ।
साउन ९ गते बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज भुइँ छोडेको केही सेकेन्डमै दुर्घटनामा परेको थियो । दुर्घटनामा एक विदेशीसहित १८ जनाको मृत्यु भएको थियो । पाइलट मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो ।
उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । शाक्य खतरामुक्त रहेको केएमसी अस्पतालले जनाएको छ ।