उत्तरी धादिङ रुबीभ्याली गाउँपालिकाको विभिन्न क्षेत्रमा बाढी र पहिरोले ठूलो मात्रामा क्षति पुर्याएको छ । वर्षापछि आएको बाढीपहिरोले रुबिभ्यालीका वडा नम्बर ५ र ६ का ४ वटा पुल बगाउनुका साथै ठाउँ–ठाउँमा पहिरो झरेर बाटो नै अबरुद्ध भएको स्थानियहरुले बताएका छन् ।
बाढी पहिरोले गाउँ नै समस्यामा परेका बेला स्थानीय सरकारका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भने गाउँमा नै नभएको एक स्थानियले बताए । स्थानिय जनप्रतिनीधिहरु गाउँमा नै नहुँदा
पीडित नागरिकहरुले साधारण राहत समेत पाउन सकेका छैनन् ।
रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ र ६ का ४ वटा पुल बगाएपछि धेरै गाउँको आवत जावत बन्द भएको छ । लगातारको वर्षपछि खोला बढेका कारण विद्यालय जानुपर्ने बालबालिकासमेत विद्यालय जान पाएका छैनन् ।
रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ स्थित तिनचेत नेसुङ खोलामा रहेको ढलान पुल बाडीले बगाएपछि तिनचेत, चपाङचेत, छुम्राङ, तेनचेत आदी स्थानसंग सम्पर्क विच्छेद भएको छ ।
रुबीभ्याली गाउँपालिका वडा नम्बर ५ र वडा नम्बर ६ जोड्ने राखोला काठेपुल, गल्दी खादिङको ट्रस पुल, थुवाखोला ट्रस पुल खोलाले बगाएपछि विद्यार्थीहरु आवतजावत नै बन्द भएको लापाका एक स्थानियले बताए ।