बाढीले बगायो पुल, एक महिनादेखि सडक बन्द उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको भोटखोला सडक एक महिनादेखि बन्द छ । असार पहिलो हप्ताको बाढी पहिरोले इकुवा खोलाको पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो ।
मकालु–३ र भोटखोला–४ को बीचमा रहेको इकुवा खोलाको पुलले दुवै गाउँपालिकालाई जोडेको थियो । पुल बगाउँदा चार करोड रुपैयाँको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । त्यो क्षेत्रमा यातायात सञ्चालन गर्न अझै केही समय लाग्ने आयोजनाको भनाइ छ ।
इकुवा खोलामा २०७९ सालमा पक्की पुल निर्माण गरिएको थियो । पक्की पुल बगाएपछि मकालु गाउँपालिका केही वडा र भोटखोला गाउँपालिका प्रभावित भएका छन् ।