Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

भोजपुरमा बाढीले बगाएका मजदुरको शव फेला, अझै एक बेपत्ता


भोजपुरमा बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ ।

भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव बुधबार अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

इखुवा खोलाको बाढीले मंगलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारूसँगै बगेका २६ वर्षीय श्यामकुमार थारू हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयले उद्धार गरेका थिए ।

बेपत्ताको खोजी गर्न प्रहरी चौकी चौकीडाँडा, इलाका प्रहरी कार्यालय दिङ्ला तथा सशस्त्र प्रहरी बलको अस्थाइ बेश क्याम्प चौकीडाँडाको टोली खटिएको छ । यसैबीच मंगलबार राति आएको बाढीले षडानन्द नगरपालिका–२ मा दुई घर बगाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार स्थानीय चित्रबहादुर दर्जी र निर्मला राईको घर बाढीले बगाएको हो । बाढीले बगाएका चित्रकी श्रीमती ६५ वर्षीया चन्दकुमारी दर्जीलाई स्थानीयवासीले उद्धार गरेका थिए । बाढीले एक तले घर र गोठ बगाउँदा रु ६ लाख बरावरको क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

बाढीले गोरु, बाख्रा र कुखुरा पनि बगाएको छ । घर बगाएपछि ६ जनाको परिवार बिचल्लीमा परेको छ । उनीहरु स्थानीय महेन्द्र राईको घरमा बस्दैआएका छन् । बाढीले निर्मलाको घर, नगद ५० हजार, चार तोला सुन, ६ तोला चाँदी र घर भित्र रहेको सम्पुर्ण सामान बगाएको प्रहरीले जनाएको छ ।

उनको करिब रु १० लाख बरावरको क्षति भएको छ । निर्मलाको परिवार स्थानीय राम राईको घरमा बस्दैआएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार