रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीकी शान्तिमाया सुनुवारले ७६ वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र पाएकी छिन् । ७६ वर्षको उमेरमा नागरिकता पाउँदा उनी निकै खुसी भएकी छिन् । हर्षले गद्गद् भएकी छिन् शान्ती माया ।
२००५ सालमा जन्मिएकी शान्ती मायाले सनाखत बसिदिने आफन्त कोही नहुँदा ७६ वर्षसम्म नागरिकताको प्रमाणपत्र पाउन सकेकी थिइनन् । नजिकका आफन्त कोही नभएका र जग्गा जमिन पनि केही नभएकी शान्ती मायाको नागरिकता बनाउन सनाखत बस्ने कोही नभएपछि वडाध्यक्ष रुद्रमणि नेवार र गाउँ कार्यपालिका सदस्य मनिता सुनुवार सनाखत बसेर नागरिकता बनाइदिएका हुन् ।
यस अघि पनि सुनुवारको नागरिकता बनाइदिन पटक पटक प्रयास गरेको भएपनि तत्कालीन प्रमुख जिल्ला अधिकारीले नमानेका कारण नागरिकता बनाइदिन नसकेको वडाध्यक्ष नेवारको भनाइ छ । वडाध्यक्ष नेवारका अनुसार ती महिलाको विषयमा सबै कुरा बताएपछि प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले सबै बेहोरा खोलेर ल्याउन र वडाध्यक्षलाई सनाखत बसिदिन भनेपछि नागरिकता बनेको हो ।
शान्तीमायाको दिदी र बहिनीहरु पनि छन् । तर, उनीहरु पहिला नै विवाह गरेर बाहिर गएर बसेका छन् । आमा र बुवाको मृत्यु भइसेको छ । दाजु–भाइ कोही पनि नभएका कारण उनी नेपाली नै भएर पनि ७६ वर्ष पुग्दा समेत नेपाली नागरिकता पाउनबाट बञ्चित भएकी थिइन् । नागरिकता नहुँदा सरकारबाट प्रदान गरिने सुरक्षा भत्ता समेत उनले पाएकी थिइनन् ।
यसभन्दा अगाडी आएका स्थानिय जनप्रतिनिधिहरुले उनलाई नागरिकता बनाइदिने आशा देखाएका थिए । तर, पनि उनले पाउन सकीनन् । अहिले वडाअध्यक्ष नेवार र गाउँ कार्यपालिका उपाध्यक्ष सुनुवारको पहलमा नागरिकता बन्दा उनी निकै हर्षित भएकी छिन् ।
बिहीबार नागरिकता लिएपछि शुक्रबार उनले जेष्ठ नागरिक भत्तााका लागि पनि फारम भरेसकेकी छिन् । शान्तीमायाले यसभन्दा अगाडी छिमेकीहरुकोमा पालैपालो बस्दै काम सघाएर बिहान बेलुकाको छाक टार्दै आएकी थिइन् ।
अब भने सरकारबाट पाउने सुरक्षा भत्ताले उनकोे जेनतेन खर्च पुग्ने आशा उनमा पलाएको छ ।