Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

प्रचण्ड ओलीसँग एकाएक खुसी, यस्तो छ कारण


कांग्रेस र एमाले मिलेर आफू नेतृत्वको सरकार ढालेपछि रन्थनिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एकाएक परिवर्तन भएका छन् । सरकार ढलेपछि कांग्रेस र एमालेसँग रुष्ट बनेका प्रचण्डले ओली नेतृत्वको सरकारलाई अरु कसैले बनाइदिएको मात्रै भनेनन् ओली सरकारको यात्रा प्रतिगनमतर्फ केन्द्रीत रहेको र त्यसविरुद्ध माओवादीले आन्दोलन गर्ने चेतावनी नै दिए । तर, ओली सरकारलाई प्रतिगमनको यात्रातर्फ उन्मुख भनेका प्रचण्ड सरकार गठनको केहीदिनपछि नै एकाएक ओली सरकारको प्रशंसा गर्ने तहमा पुगेका छन् ।

बुधबार मात्रै पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्षौदेखि टुंगिन नसकेको टिआरसी विधेयक टुंगिने चरणमा पुग्नुलाई नयाँ सरकार गठनपछिको राम्रो काम भनी प्रशंसा गरे । हत्तपत्त विपक्षी दलले सरकारको प्रशंसा गरेको सुनिदैन । अझ त्यसमा पनि भर्खरै प्रधानमन्त्री पद गुमाएको पार्टी र त्यो पार्टीका अध्यक्षले सरकारको प्रशंसा गर्नु सामान्य कुरा होइन । प्रचण्डले अरु विषयमा भए सरकारले गरेको कामको प्रशंसा यति हतारिएर पक्कै गर्दैनथे । तर, टिआरसी विधेयक यस्तो विधेयक हो जुन विधेयक समयमा नै टुंगिन सकेन र अझै पर धकेलियो भने माओवादीका धेरै नेताहरुको बास जेलमा हुन सक्छ ।

शसष्त्र युद्धका क्रममा तत्कालिन विद्रोही पक्ष माओवादी र सरकारबाट भएका मानवअधिकार उल्लंघनका घटनाले माओवादी र सरकारी पक्ष दुबैको टाउको दुखाइरहेको थियो । नेपाली सेनाका महासेनानी कुमार लामा युद्ध अपराधको आरोपमा विदेशमा नै पक्राउ परेको घटनाले तत्कालिन सेनाका अधिकृतहरुमा जति भय पैदा गरेको थियो त्यो भन्दा हजारौं गुणा भय माओवादीका नेताहरुमा पैदा भएको थियो । युद्ध अपराधको आरोपमा नेपाली सेनाका उच्चपदस्थ व्यक्ति विदेशी भूमीमा पक्राउ परेपछि आफूहरु पनि विदेशी भूमीमा पक्राउ पर्न सक्ने डर माओवादीका नेताहरुमा थियो । कुमार लामा पक्राउ परेताका त माओवादी नेताहरुको होस हवास यसरी उडेको थियो कि पक्राउको डरले विदेश जान समेत धेरै नेताहरु डराएका थिए । प्रचण्ड लगाएतका माओवादीका धेरै नेताहरुलाई हेगमा उभिनुपर्ने ठूलो डर रहेको माओवादीकै केही नेताहरुले अनौपचारिक रुपमा बताउने गरेका थिए । प्रचण्ड तीनपटक प्रधानमन्त्री भए ।

तीनैपटक उनले शान्ति प्रकृयाको महत्वपूर्ण पाटोका रुपमा हेरिएको त्यही सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी विधेयक अर्थात टिआरसी विधेयक टुंग्याएर सम्भावित अन्तर्राष्ट्रिय कारबाहीबाट जोगिन सक्दो प्रयास गरे । यद्यपि तिनै पटकको उनको प्रधानमन्त्री कार्यकालमा त्यो सम्भव भएन । टिआरसी विधेयक ओली र देउवाहरुका लागि भन्दा पनि प्रचण्डहरुका लागि निकै महत्वपूर्ण थियो । तर, त्यही महत्वपूर्ण काम आफू पटक पटक प्रधानमन्त्री बन्दा पनि फत्ते गर्न नसकेका प्रचण्ड ओली नेतृत्वको सरकारले फत्ते गर्न थालेपछि खुसी नहुने कुरै थिएन । त्यहीभएर केहीदिनअघि सम्म ओली सरकारसँग आगो बनेका प्रचण्ड एकाएक सरकारसँग खुसी भए । टिआरसी विधेयकलाई अन्तिम रुप दिन बनेको कार्यदलको प्रतिवेदन बुझ्दै प्रचण्डले ओली सरकारलाई धन्यवाद दिए र भने, नयाँ सरकार गठनपछिको राम्रो काम हो यो , म सरकारलाई धन्यवाद दिन्छु ।

२०६३ मंसिरमा शान्ति सम्झौता भएपछि ६ महिनामा टुंग्याउने भनिएको शान्तिप्रकृयाका बाँकी काम करिब दुई दशक सम्म पनि टुंगिन नसक्दा धेरैले यसलाई माओवादी नेताहरुका टाउकामा झुण्डिएको हतियार भनेका थिए । शान्ति प्रकृया टुंगोमा पुग्न ढिलाई भएको अवस्थामा जुनसुकै बेला पनि त्यो हतियार बज्रिन सक्ने सम्भावना थियो । तर, ओली नेतृत्वको सरकारले त्यही हतियारको व्यवस्थापन गर्ने भएपछि अहिले प्रचण्डमा खुसीको सिमा छैन । प्रधानमन्त्री पद कांग्रेस र एमाले मिलेर खोसेकोमा रिस त छँदैछ यद्यपि टिआरसी विधेयकमा ओली सरकारले लिएको अग्रसरताले प्रचण्डलाई ठूलो आनन्द दिलाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार