बागलुङ नगरपालिका– ४ बन्द्रेमा गएराति आएको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । कुँडुलेदेखि मालिका जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र ध १ प ९९९६ नम्बरका स्कुटर बगाएको हो ।
मोटरसाइकल र स्कुटर बगाउँदा बागलुङ –४ बान्द्रे अढाइथरका २३ वर्षीय अर्जुन सापकोटा र सोही ठाउँका २२ वर्षीय अवेशिक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ। प्रहरीका अनुसार बाढीमा परी सोही गाउँका २० वर्षीय कमल सापकोटा बेपत्ता भएका छन् ।
सापकोटा र रेग्मीको शव करिब दुई सय मिटर तल फेलापरेको थियो । ती शव परीक्षणका लागि धौलागिरि अस्पताल बागलुङमा लगिएको प्रहरीले जनाएको छ । बेपत्ता कमलको खोजी भइरहेको छ । अहिले पनि वर्षा भइरहेको हुँदा खोजीमा समस्या भएको जनाइएको छ ।