सहकारी प्रकरणमा :संसदीय छानबीन समितिले रवि लामिछानेसहित विभिन्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेपछि अब कस्तो कारबाही होला र के होला भन्ने आम कौतुहलता शुरु भएको छ । रवि लामिछाने सहित रास्वपाका नेताहरुले कारबाही सिफारिसलाई क्लिन चिट भनिरहेका छन् भने छानबीन समितिका सभापति सुर्य थापाले क्लिन चिट नदिएको दाबी गरेका छन् ।
आजको प्रेससँगको भिडियो संवादमा समिति सभापति सूर्य थापाले प्रष्टसँग कारबाहीको सिफारिस लेखिएको अवस्थामा रवि लामिछानेले आफूले सफाई पाएँ भन्दै हिँड्न नमिल्ने बताएका छन् । समिति सभापति सूर्य थापाको भनाई छ हामीले कारबाहीको सिफारिस गरेका हौं अब के कस्तो कारबाही भन्ने कुरा सरकारको भयो । तर, सहकारी प्रकरणमा रवि लामिछानेलाई सफाई भने दिएका छैनौं । रवि लामिछानेले सहकारीबाट गोरखा मिडियामा आएको करोड करोडको चेक काटेको भन्दै सभापति थापाले क्लिन चिट भन्ने शब्द प्रतिवेदनमा कहिँँ कतै उल्लेख नगरेको बताएका छन् ।
कारबाहीको सिफारिस आफू नेतृत्वको समितिले गरेको बताउँदै समिति सभापति थापाले तथ्य र प्रमाणका आधारमा आफूहरुले प्रतिवेदन लेखेकाले कोही दुविधामा पर्न आवश्यक नभएको प्रतिकृया दिएका छन् । तत्कालिन अवस्थामा रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया प्रा.लि.मा अधिकांश रकम सहकारीबाट आएको देखिएको उल्लेख गर्दै थापाले सहकारीको रकमको जिम्मा लिन्नँ भन्न नमिल्ने बताएका छन् । सूर्य थापाको भनाई अनुसार रवि लामिछाने सहकारी रकम हिनामिना प्रकरणमा दोषी देखिएका छन् । सहकारीबाट आएको करोडौं रकम उनकै हस्ताक्षरमा चेक काटिएर खर्च भएको र लामिछाने गोरखा मिडिया प्रालिको कर्मचारी नभई सञ्चालक रहेका कारण उनले जिम्मेवारीबाट उम्किन नमिल्ने थापाको तर्क छ । रवि लामिछानेको नाम नै किटेर संसदीय छानबीन समितिले सिफारिस गरेपनि यता रवि लामिछाने र रास्वपाका नेता कार्यकर्ताहरुले भने सहकारी प्रकरणमा रवि लामिछाने निर्दोष देखिएको दाबी गरेका छन् । रवि लामिछाने दोषी या निर्दोष भन्ने विषयले सामाजिक सञ्जाल संसदीय छानबीन समितिको प्रतिवेदनपछि पनि तातिएका बेला सरकारका कुनै पनि अधिकारीले यसबारे ठोस कुरा सार्वजनिक गरेका छैनन् ।
उतिबेला सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै निरन्तर संसद अबरोध गर्ने कांग्रेस सांसद रमेश लेखक अहिले गृहमन्त्री छन् । गृहमन्त्री रहेका लेखकले यसबारे केही बोलेका छैनन् । संसदीय छानबीन समितिले कारबाहीका लागि सिफारिस गरिसकेको अवस्थामा राजनीतिक सौदाबाजीका कारण उनलाई उन्मुक्ति दिइने हो कि भन्ने आशंका एकाथरीमा छ भने अर्काथरीमा रवि लामिछानेलााई सहकारी प्रकरणमा संसदीय छानबीन समितिले दोषी नै ठहर गरेको नभई गोरखा मिडिया प्रा.लि.मा रहेको पैसाका विषयमा चाहिँ प्रश्न उठाएको बताएका छन् । त्यसैले पनि रवि लामिछानेमाथि कारबाही भन्ने कुरै नआउने उनीहरुको तर्क छ ।
यता सहकारी प्रकरणलाई लिएर रवि लामिछानेमाथि कारबाही या क्लिन चिट भन्ने विषयले सामाजिक सञ्जाल तातिदै गएका बेला प्रहरीले सरकारको निर्देशन कुरेर बसेको बुझिएको छ । सहकारी छानबीन सम्बन्धी संसदीय छानबीन समितिले प्रष्ट रुपमा कारबाहीका लागि सिफारिस गरिसकेको अवस्थामा कुनैपनि बेला कारबाहीको प्रकृया अघि बढाउनुपर्छ भन्ने कुरामा प्रहरी नेतृत्व सचेत रहेको भन्दै एक प्रहरी उच्च अधिकारीले भनेः रवि लामिछानेमाथि अहिलेकै अवस्थामा प्रहरीले माथिको निर्देशन नभई एक्सन लिन भने सक्दैन । तर, माथिको निर्देशन भएको अबस्थामा प्रहरीले लामिछानेमाथि एक्सन लिनेछ । ती प्रहरी अधिकारीका अनुसार रवि लामिछानेको विषयले राजनीतिक रुप समेत लिएका कारण पनि यो विषयमा प्रहरीले माथिको निर्देशन कुरिरहेको हो । प्राप्त जानकारी अनुसार प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमणबाट फर्किएपछि लामिछानेमाथि एक्सन लिने सरकारको तयारी छ । छानबीन समितिको प्रतिवेदन आए लगत्तै एक्सन लिँदा यसले राजनीतिक वृत्तमा फरक प्रकारको तरंग ल्याउन सक्ने भएकाले केही दिन कुर्ने सरकारको सोच देखिन्छ ।