Logo
२०८१, २२ कार्तिक बिहीबार
|  Thu Nov 7 2024

बालेनका नाममा फेक अकाउण्ट, रवि प्रकरणमा मनलाग्दी


काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको भेरिफाइड फेसबुक अकाउण्ट जस्तै देखिनेगरी विभिन्न फेक स्टाटसका स्क्रिनसटले केहीदिनयता सामाजिक सञ्जाल भरिएको छ । बालेन शाहले रवि लामिछाने पक्राउ प्रकरणका सन्दर्भमा अहिलेसम्म आधिकारिक रुपमा आफ्नो फेसबुकमा केही लेखेका छैनन् । तर, उनको नामको दुरुपयोग गर्दै विभिन्न व्यक्तिहरुले मनलाग्दी लेखिरहेका छन् । हेर्दा ठ्याक्कै बालेन शाहको स्टाटस जस्तै देखिन्छन् ती स्क्रिनसटहरु । फेसबुक प्रयोगकर्तालाई झुक्याउनेगरी बालेन लेखिएको फेसबुक अकाउन्टमा निलो टिक बनाइएको छ । निलो टिक देखेपछि मान्छेहरु झुक्किने नै भए ।

रवि लामिछानेका समर्थकदेखि लिएर लामिछानेका बिरोधीसम्मले बालेन नामको दुरुपयोग गर्दै फेक स्टटासको सहारा लिएका छन् । बालेन नामबाट आएका केही फेक स्टाटस यस्ता छन् : देश बचाउन गरेको आन्दोलन भए जनताले साथ दिन्थे । तिमिहरुका नेता बचाउनलाई किन दिने ? रिहा भएपछि टाँसिने तिनैसँग हो ।
यस्तै अर्को फेक स्टाटसमा भनिएको छ, मिसन २०८४ः एउटा छाप रुखमा, अर्को घाममा छाप । रास्वपा पत्तासाफ ।
यस्तै सहकारीसँगै रबिमाथि नक्कली भुटानी शरणार्थी, सुन तस्कर, गिरिबन्धु र बालुवाटार जग्गा केसमा छानबीन हुँदै भनेर अर्को फेक स्टाटस लेखिएको छ ।

यी केही प्रतिनिधीमुलक फेक स्टाटस मात्रै हुन् । यस्ता अनगिन्ती फेक स्टाटसले सामाजिक सञ्जाल छ्याप्छ्याप्ती छ । बालेनको लोकप्रियतालाई आफू अनुकुल प्रयोग गर्ने बेइमानीपूर्ण चलाखीका रुपमा रवि लामिछानेका समर्थक र विरोधीले अपनाएको यो तरिका कानुनका दृष्टिमा दण्डित हो । तर, कानुनको बेवास्ता गर्दै यी र यस्ता स्टाटस लेखिएका छन् । यस्तो गर्नु साइबर अपराध हो । तर, अपराधपूर्ण काम खुलमखुल्ला भइरहेको छ । कोही कसैले प्रहरीको साइबर ब्युरोमा उजुरी गरे या प्रहरीको साइबर ब्युरोले स्वतस्फुर्त रुपमा अनुसन्धानको प्रकृया अघि बढाए अरुको नाम दुरुपयोग गरेर फेक स्टाटस लेख्नेहरु जेल पर्छन् । तर, अहिलेसम्म यो विषयमा कोही कसैले उजुरी गरेको सुनिएको छैन । यता बालेन शाहको सचिवालय पनि फेक स्टाटसका बारेमा अनभिज्ञ छैन ।

सामाजिक सञ्जालमा सकृय रहने बालेन शाह र उनको सचिवालय यसबारेमा किन मौन छ भन्ने कुरा पनि धेरैका लागि अनौठो र रहस्यको विषय बनेको छ । तर, बालेन शाहको सचिवालयका एक सदस्यले मौनतालाई कमजोरीका रुपमा सोच्न नहुने बताए । उनका अनुसार साइबर ब्युरामा उजुरी गर्ने सोचमा बालेनको सचिवालय रहेको छ । रवि लामिछाने प्रकरणमा मात्रै होइन अन्य विभिन्न प्रकरणमा पनि बालेन शाहको नामको दुरुपयोग भइरहेको छ । हेर्दा ठ्याक्कै बालेन शाहको फेसबुक पेज जस्तो देखिनेगरी निलो टिक लगाएर अन्य सन्दर्भमा पनि स्टाटसहरु सामाजिक सञ्जालमा बेला बेलामा आइनै रहेका छन् । तर, ती स्टाटस बालेन शाहका हुँदैनन् । रवि प्रकरणको पक्ष या विपक्षमा त अहिलेसम्म बालेन शाहले एक शब्द पनि लेखेका छैनन् । तर, उनले नै लेखेको जस्तोगरी सामाजिक सञ्जाल भने भरिएको छ । ती स्टाटसलाई मिहिन ढंगले हेर्नेहरुले सहजै यो फेक स्टाटस हो भनेर बुझ्न सक्छन् । तर, सतही रुपमा धारणा बनाउन अभ्यस्त भएकाहरुका हकमा भने ती स्टाटस सही जस्ता लाग्न सक्छन् । त्यसैले फेक स्टाटसको बाढीले सर्वसाधारणहरुमा अन्योलता उत्पन्न गराइरहेका बेला न त मेयर बालेन शाह र उनको सचिवालय मौन बस्न मिल्छ न त नियामक निकायले नै उजुरी परेको छैन भनेर पन्छिन नै ।


प्रतिक्रिया दिनुहोस !
विचार