सहकारीको रकम ठगी मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको यो महिना हिरासतमै बित्ने भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेमाथि थप १३ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएपछि यो महिना उनको अदालतमै बित्ने भएको हो ।
जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले रविमाथि थप १३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । योसहित रविको चौथोपटक म्याद थप भएको हो । काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र सहकारीको रकम अपचलनमा प्रहरीले एक साथ अनुसन्धान गरिरहेको छ ।
यसअघि प्रहरीले लामिछानेलाई म्याद थपका लागि गत मंगलबार अदालतमा उपस्थित गराएको थियो । प्रहरीले २५ दिन म्याद मागेकोमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिनको समय दिएको थियो । यसअघि अदालतले थप अनुसन्धानका लागि तीन पटक म्याद थप गरिसकेको छ ।
लामिछानेसँगै गोर्खा मिडिया नेटवर्का अर्का सञ्चालक पूर्वडीआइजी छविलाल जोशी, जिवि राई निकट मानिएकी लिला पछाई र रामबहादुर खनाललाई पनि १० दिन हिरासतमा राख्न अनुमति दिएको थियो । लामिछानेलाई तेस्रो पटक थपिएको म्याद कात्तिक १५ गतेदेखि गणना भएर कात्तिक २४ गते सकिएको हो ।
हिजो शनिबार भएकाले प्रहरीले आज लामिछानेसहित तिनैजनालाई अदालत उपस्थित गराएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले केन्द्रीय अनुसन्धान ब्युरो–सीआइबीको समेत साथ लिएर सम्पत्ति शुद्धीकरणमा लामिछानेको कारोबार खोजी गरिरहेको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपी अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति रहने बताएका छन् ।
सभापति लामिछानेको रिहाइको माग गर्दै आइतबार पोखरामा आयोजित कार्यक्रममलाई सम्बोधन गर्दै उपसभापति अर्यालले भने, ‘रवि लामिछाने जिउँदो रहेसम्म रास्वपाको सभापति उहाँ नै हो। यसमा कार्यवाहक सभापति कसले पाउँछ, कसले पाउँदैन त्यो गौण कुरा हो ।
सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते सभापति लामिछाने पक्राउ परे पनि रास्वपामा कार्यवाहक सभापति तोकिएको छैन । रास्वपामा डिपी र स्वर्णिम वाग्ले उपसभापति छन्। पार्टी सभापतिले तोकेका वा ज्येष्ठ उपसभापतिमध्येबाट कार्यवाहक तोक्ने विधानमा व्यवस्था भए पनि लामिछानेले औपचारिक रूपमा कसैलाई पनि कार्यवाहक दिएका छैनन् ।
तथापि उपसभापति अर्यालले नै कार्यवाहकको भूमिका निर्वाह गर्दै आएका छन् । यसअघि बसेको केन्द्रीय समिति बैठकको अध्यक्षता उपसभापति अर्यालले नै गर्दै आएका हुन् । यता रास्वपा सभापति रवि लामिछाने बाँचुञ्जेल रास्वपाको सभापति रहने भनी डिपी अर्यालले दिएको अभिव्यक्तिपछि मिश्रित प्रतिकृया आएका छन् ।
रवि लामिछाने हिरासतमा नभई जेलमा नै गएको अवस्थामा पनि उनी नै पार्टी सभापति रहने भनी अर्यालले दिएको अभिव्यक्तिपछि सामाजिक सञ्जालमा मिश्रित प्रतिकृया आएका हुन् । कतिपयले त्यसोभए रास्वपा सकियो भनेका छन् भने कतिपयले आवश्यकता भन्दा बढी चाकडीमा डिपी अर्याल लिप्त रहेको बताएका छन् ।
पार्टी उपसभापति अर्यालको यो अभिव्यक्तिले रास्वपामा समेत रविका पक्ष र विपक्षमा कार्यकर्ता विभाजित हुन सक्ने आँकलन गर्न सकिन्छ । जे सुकै र जस्तोसुकै अवस्थामा पनि रवि लामिछाने नै पार्टी सभापति भन्ने कुरा पार्टीका उपसभापतिले भनेपछि यसमा कार्यकर्ता तह विभाजित हुन सक्ने देखिएको हो ।