Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

रवि लामिछानेको १३ दिने म्याद सकियो, आज फेरि अदालत लगिदै


सहकारी ठगीको अरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई आज अदालतमा पेस गरिँदैछ । पछिल्लोपटक अदालतले दिएको १३ दिनको म्याद अस्ति शुक्रवार सकिएसँगै उनलाई पुनः म्याद थपका लागि अदालत उपस्थित गराउन लागिएको हो । कात्तिक २ मा काठमाडौं स्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि अदालतले पटक पटक म्याद थप गरेको छ । तर, उनलाई पटक पटक म्याद थप गरेर अनुसन्धान गर्ने भन्दा पनि हिरासत बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने आवाज केही कानुन व्यवसायीहरुले उठाइरहेका छन् । यता रवि लामिछाने पक्षका वकिलहरुले भने लामिछाने सहकारी ठगीमा संलग्न नरहेको भन्दै उनलाई रिहा गर्नुपर्ने तर्क अदालतसमक्ष पेश गर्ने गरेका छन् । लामिछाने पक्षधर वकिलहरुको तर्क बलियो र चित्तबुझ्दो रहेमा उनीमाथि म्याद थप नहुने सम्भावना पनि छ । यद्यपि लामिछानेमाथि सहकारी ठगीमा मात्रै नभई संगठित अपराध, सम्पत्ति सुद्धिकरण लगाएतका अपराधको आरोपमा पनि अनुसन्धान भइरहेका कारण यसै भन्न सकिने स्थिती भने छैन ।

कास्की प्रहरीले लामिछानेमाथिको अनुसन्धान नसकिएको भन्दै आज पनि म्याद थपका लागि अदालत समक्ष माग गर्नेछ । काठमाडौँ र चितवनबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थपेर उनलाई काठमाडौँ र चितवनमा बयान गराउने प्रहरीको तयारी छ । तर, कास्की प्रहरीको माग बमोजिम उनीमाथि म्याद थप हुने या नहुने भन्ने कुरा भने अदालतको निर्णयमा भर पर्नेछ । केहीगरी उनीमाथि अनुसन्धानका लागि कास्की अदालतले म्याद थप गर्न आवश्यक नरहेको भनी धरौटीमा छाड्ने आदेश दिएको खण्डमा पनि उनी रिहा भने हुने छैनन् । उनीविरुद्ध बुटवलको सुप्रिम सहकारी, काठमाडौँको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी, चितवनको सहारा सहकारीको रकम अपचलनको आरोपमा पक्राउ पुर्जी जारी भएका कारण उनी रिहा हुँदापनि तत्कालै पक्राउ पर्नेछन् । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको आरोपमा रवि लामिछानेका पूर्व व्यवसायिक साझेदार छबिलाल जोशीसँग काठमाडौंमा बयान लिइसकिएको छ भने अब रवि लामिछानेलाई पनि काठमाडौं ल्याउने तयारी छ । तर, लामिछानेलाई चितवन लगेर काठमाडौं ल्याउने या पहिले काठमाडौंमा बयान गराएर चितवन लैजाने भन्ने विषयमा प्रहरी अलमलमा छ ।

लामिछानेसहित गोर्खा मिडियाका तत्कालिन उपाध्यक्ष छविलाल जोशीसहित १० जनाविरुद्ध अनुसन्धान गर्न चितवन जिल्ला अदालतले शुक्रबार मात्रै प्रहरीलाई अनुमति दिएको थियो । चितवनमा साहारा चितवन सहकारीका २४ बचतकर्ताले रवि लामिछाने लगाएतविरुद्ध बुधबार प्रहरीमा पुरक जाहेरी दिएपछि उनीबिरुद्ध पक्राउ पुर्जी जारी भएको हो । चितवन २ का सांसद समेत रहेका लामिछानेमाथि चितवनमा नै पक्राउ पुर्जी जारी भएपछि यसले राजनीतिक वृत्तमा तरंंग सिर्जना गरेको छ भने लामिछानेको हिरासत बसाई अझै केही साता लम्बिन सक्ने अनुमान गरिएको छ ।

गत कार्तिक २ गते पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका लामिछानेविरुद्ध यसबीचमा बुटवल, काठमाडौं तथा चितवनबाट पक्राउ पुर्जी जारी भइसकेको छ ।
चितवनको सहारा चितवन सहकारीबाट १० करोड ८० लाख रुपैयाँ नियमविपरीत गोर्खा मिडियामा गएको साहारा चितवनका बचतकर्ताहरुले आफ्नो जाहेरीमा उल्लेख गरेका छन् । साहारा चितवनका बचतकर्ताले गत वर्ष असोजमा दिएको जाहेरीका आधारमा प्रहरीले अन्य १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा नै चलाइसकेको छ ।
रवि लामिछाने पक्राउको विषयलाई रास्वपाका नेता कार्यकर्ताले राजनीतिक प्रतिशोध भन्दै आन्दोलन गरिरहेका बेला विभिन्न जिल्ला अदालतबाट धमाधम पक्राउ पुर्जी जारी हुन थालेपछि रास्वपाका नेता कार्यकर्ता निराश देखिएका छन् । यद्यपि उनीहरुले सहकारी ठगीमा लामिछानेको संलग्नता भने नभएको दाबी गर्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार