Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

मनिष झा मार्फत रविको चेतावनी


सहकारी ठगीको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रहरी नियन्त्रणकै बीचमा सरकारलाई चेतावनी दिएका छन् । आफ्नो पार्टीका कार्यबाहक प्रवक्ता मनिष झा मार्फत एक सन्देश पठाई लामिछानेले क्रान्तिको रंग बदल्न नपरोस् भन्दै सरकारलाई चेतावनी दिएका हुन् । रवि लामिछानेले हिरासतबाटै पठाएको सन्देश भनी कार्यबाहक प्रवक्ता मनिष झा ले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटसमा सरकारले अनेक तबरले आफूमाथि दमन गरिरहे क्रान्तिको रंग नै बदल्नुपर्ने हुन सक्ने उल्लेख गरेका छन् । सहकारी ठगीको आरोपमा थप अनुसन्धानका लागि काठमाडौं ल्याउनु ठिक अघिल्लो साँझ लामिछानेले मनिष झा मार्फत भनेका छन् : एउटा व्यक्तिविरुद्ध भएभरका सारा शक्ति नांगो भएर लाग्ने र त्यसमा पनि नपुगेर न्यायलयमा पनि चल्छ भन्दै खुलमखुला तर्साउने हो भने हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने हुनसक्छ ।’

आफूले बुटवलस्थित सरकारी वकिलको कार्यालयमा दिएको बयानका विषयमा आएका समाचारप्रति लामिछानेले कार्यबाहक प्रवक्ता मनिष झा मार्फत कडा असन्तुष्टी व्यक्त गरेका हुन् ।

रवि लामिछानेको असन्तुष्टी उल्लेख गर्दै रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झा ले आफ्नो पेजमा लेखेका छन् : जिल्ला सरकारी वकीलको कार्यालय,रुपन्देहीमा भएको बयानलाई विभिन्न मिडियाले आ–आफ्नो स्वादअनुसारले पूर्वाग्रही भई संगठित रुपमा सार्वजनिक गरेर भ्रम छर्न मिल्छ ? जिल्ला सरहकारी वकीलको कार्यालय, रुपन्देहीको नियत संगठित ‘मिडिया ट्रायल’लाई सघाउने हो ? सिंगो राज्य संयन्त्र र केही मिडिया उहाँविरुद्ध कसरी लागेका छन् भन्ने प्रमाण योभन्दा अरु के हुन सक्ला ! उहाँले हस्ताक्षर गरेका चेकबारे दिएको जवाफ भनी उहाँकै जवाफलाई तोडमोड गरी अझ एकदम आत्तिएको, तर्सिएको, झस्किएको भन्दै आफूखुसी बंग्याएर आम मानिसमा भ्रम छर्ने काम कायरताको पराकाष्ठा हो । कार्यबाहक प्रवक्ता झा ले लेखेका छन् : हातखुट्टा बाँधेर, मुख थुनेर, खोरभित्र कोचेर, खोर बाहिरबाट ढुंगा हान्ने तहको कायरता उहाँले कल्पना नै गर्नुभएको छैन ।
हिरासत कक्षमा आफूसँग भएको भेटको सन्दर्भ उल्लेख गर्दै रवि लामिछानेको शब्दमा झा ले लेखेका छन् : ‘पहिलो कुरा, उक्त चेकसहितको सवालका लागि एकैछिन बुझ्नुपर्छ भनेको हुँ। पुरानो कुरा भएकाले बुझ्न दुई÷तीन कल वयान लिनेकै अगाडि गरेको पनि हुँ। सबै कलको समय जोड्दा ५ देखि ७ मिनेट मात्र भयो होला। त्यतिन्जेल अरु सवालहरुमा काम निरन्तर भयो। काम रोकिएको र त्यसैका कारण बयानमा समय लागेको कुरा गलत हो, झुटो हो।’
दोस्रो कुरा ‘मेरो जवाफमा मैले यसो यसो भएको हुनुपर्छ तर मलाई अहिले यकिन भएन, लेखापरीक्षण प्रतिवेदनमा पनि कतै नदेखिएकाले थप तथ्य अनुसन्धान अधिकारीलाई पछि जानकारी गराउँछु भनेर प्रष्ट रुपमा भनेको थिएँ। सहकारीबाट ऋण लिने कुनै निर्णय कम्पनीले गरेको छैन। कार्यकारी अध्यक्ष एवं लगानीकर्ता जिवी राईले ब्याज नलाग्ने ऋण लिएको ‘डिक्लेयर’ गरेका छन्। उनको निर्देशनमा कुनै चेकहरु काटिएको हुन सक्छ र त्यसका लागि चेकसँगैको ‘सपोर्टिङ डकुमेण्ट’ हेर्नुपर्ला। साथै, व्यस्तता र उपत्यका बाहिरको भ्रमणहरुका कारण खाली चेकमा समेत हस्ताक्षर गरेर छोड्ने अभ्यास थियो। कतै दुरुपयोग पो भयो कि ? जे भए पनि मैले व्यक्तिगत रुपमा र संस्थागत रुपमा समेत सहकारीबाट ऋण लिएको छैन, सहकारीको ऋणको सावाँ, ब्याज, किस्ता तिर्न भनी कुनै पत्र, सूचना प्राप्त भएको वा सार्वजनिक भएको जानकारी छैन। त्यसैले प्रस्तुत चेकबारे ‘सपोर्टिङ’ कागजात हेर्नुपर्छ भनेर जवाफ दिएको थिएँ।’
‘तर यस प्रसंगलाई यसरी उचालिएको छ कि मानौं मैले सहकारीबाट ऋण मागेको, लगेको, खाएको, मासेको प्रमाण नै फेला प¥यो। गोर्खा मिडियाले सम्झौता गरेका कर्मचारी, कम्पनी, भेण्डर आदिलाई भुक्तानी दिन प्रदान गरिएका चेकहरुबारे तथा कार्यकारी अध्यक्षको निर्देशन पालना गरी भुक्तानी गरिएको बैंक, वित्तीय संस्था, कम्पनी, वा व्यक्तिका हकमा मेरो जवाफदेहित रहन्छ। प्रचलित कम्पनी ऐन बमोजिम गोर्खा मिडियाले तिरेको पैसाको जिम्मेवारी र जवाफदेहिताबाट मैले निमुख हुन्छु भनेको छैन, हुन्न। तर, सहकारीबाट पैसा ल्याउने कार्यमा मेरो संलग्नता थिएन, छैन । मैले गोर्खा मिडियाका खाताहरु रहेको चेकमा हस्ताक्षर गरी भुक्तानी गर्दा कुन–कुन चेकले कुन–कुन कानूनको उलंघन भयो ? आज पो सुप्रिम, सूर्यदर्शनजस्ता सहकारीका समस्या सार्वजनिक भयो। तीन वर्ष अगाडि लगानीकर्ताको निर्देशसनसँगै निश्चित विधि र प्रक्रिया पूरा गरी आएका बैंक, वित्तिय संस्था, सहकारी वा कुनै कम्पनीलाई दिइने चेकमा हस्ताक्षर गर्न किन सोच्नुपथ्र्यो र ?’
निजी क्षेत्रमा भइरहेका अभ्याससहित आफूविरुद्ध गरिएको षड्यन्त्र भन्दै मनिष झा मार्फत रवि लामिछानेले भनेका छन् : निजी क्षेत्र विश्वासमा चल्छ । मैले हस्ताक्षर गरेका चेकहरु गोर्खा मिडियाका चेकहरु हुन् । कम्पनी ऐनको अधिनमा रहेर गरिएका प्रत्येक कारोबारको जवाफ म दिन्छु । सहकारीका कुरा सहकारीका मान्छेले जानुन् । सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने सम्पूर्ण प्रक्रियामा मेरो संलग्नता छैन भनेर संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले पृष्ठ नम्बर ४४९ मा लेखेको छ । ममाथि कम्पनी ऐनमा अनुसन्धान हुनुपर्नेमा सहकारी ठगीको झुटो मुद्दामा गिरफ्तार गरियो, अझ प्रतिशोधपूर्वक संगठित अपराध र सम्पति शुद्धिकरण समेतको मुद्दा लगाइँदैछ । त्यतिले नपुगेर सरकारी वकिल कार्यालय नै लागेर मेरा बयानका अधुरा, अपुरा र मेरोविरुद्ध हुनेगरी मिडियालाई सूचना चुहाउने कार्य हुँदैछ ।’
रास्वपा कार्यबाहक प्रवक्ता मनिष झा ले पार्टी सभापति रवि लामिछानेले चेतावनीपूर्ण रुपमा आफूसँग भनेको भन्दै थप लेखेका छन् : म चाहिँ नागरिकले दुःख नपाउन् भनेर शान्तिपूर्ण ढंगले गरिएको आन्दोलन समेत नगर्नु भन्ने अनी मेराविरुद्ध सिंगो राज्य र केही मिडिया सुनियोजित भएर लागिरहने? यसरी एउटा व्यक्तिविरुद्ध भएभरका सारा शक्ति नाङ्गो भएर लाग्ने र त्यसमा पनि नपुगेर न्यायलयमा पनि चल्छ भन्दै खुलमखुला तर्साउने हो भने हामीले विश्वास गरेको निलो क्रान्तिको रंग बदल्नुपर्ने हुनसक्छ।’
हिरासत कक्षको पाँच नम्बर कोठाबाट छुटिदै गर्दा यो सन्देश चाहिँ नछुटोस् है भनेर लामिछानेले भनेको कुरा भन्दै मनिष झा ले स्टाटसको अन्तिममा लेखेका छन् : ‘म जिल्ला सरकारी वकीलको कार्यालय, रुपन्देहीबाट भएको गैरकानूनी क्रियाकलापप्रति सम्माननीय प्रधानमन्त्रीज्यू र महान्यायाधीवक्ताज्यूको गम्भीर ध्यानाकर्षण गराउँदछु । अन्यायका कयौं सीमारेखा पार भइसके, सत्यमाथि शक्ति प्रदर्शन बन्द होस्। मलाई न्यायालयप्रति आशा र न्यायप्रेमी जनताप्रति भरोसा छ।’
हिरासतबाटै रवि लामिछानेको सन्देश भन्दै रास्वपा कार्यबाहक प्रवक्ता मनिष झा को फेसबुक वालमा सार्वजनिक भएको यो सन्देशकाप्रति यतिबेला विभिन्न प्रकारका टिप्पणी भइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार