Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

मुकुल ढकाललाई रास्वपामै फर्काउन नेता थापाको माग, कुण्ठा पालेर नबस्न नेतृत्वलाई सुझाव


राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासन गरिएका महामन्त्री मुकुल ढकाललाई सफाई दिएर पार्टीमा फर्काउनुपर्ने आवाज रास्वपाका केही नेता कार्यकर्ताले उठाउन थालेका छन् । पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको विश्लेषण गर्दै केहीले निस्कासित महामन्त्री ढकाललाई पार्टीमा फिर्ता बोलाउनुपर्ने आवाज उठाउन थालेका हुन् ।

इलामको प्रतिनिधिसभा उप निर्वाचनमा यसअघि रास्वपाका तर्फबाट सांसद पदका आकांक्षी रहेका रास्वपा नेता महेन्द्रकुमार थापाले सानातिना कुण्ठा र तुष पालेर बस्न नहुने बताउँदै ढकालमाथिको कारबाही फुकुवा हुनुपर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक लामो स्टाटस लेख्दै उनले पार्टीभित्र चलाउनुपर्ने बहसलाई सामाजिक सञ्जालका माध्यमबाट किन बहस चलाइएको भन्ने प्रश्न उठ्न सक्ने भएपनि आफूले रास्वपाका शुभेच्छुक तथा समर्थकहरुका बीचमा सामाजिक सञ्जालबाटै बहस चलाउन उचित सम्झिएको बताएका छन् ।

उनले आफ्नो फेसबुक पेजमा लेखेका छन् : बिषय मुकुल ढकालको कार्वाही फिर्ता सम्बन्धमा । पार्टी भित्र चलाउनु पर्ने बहस यहाँ किन भन्नू होला ? राष्ट्रिय स्वतन्त्र पार्टीलाई करिब १२ लाख जनताले अभिमत दिएको चोथो ठूलो राजनितिक दल भएको कारणले गर्दा सारा नेपाली जनताको रास्वपाप्रति चिन्ता छ । यो पार्टी अब के होला ? नेतृत्वको अवस्था कस्तो होला भन्ने चासो र चिन्ता तमाम नागरिकहरु र रास्वपा प्रति सहानुभुति राख्ने सबैको रहनु स्वभाविक हो त्यसैले गर्दा मैले बहस यहिँ गर्न उचित सम्झेँ ।
पार्टीलाई पूनः लयमा फर्काउन सारा, रास्वपाका नेता देखि कार्यकर्ता सम्म एकढिक्का भएर यस विषम परिस्थितिको सामना गर्न प्रतिबद्व छन् भन्ने राष्ट्र ब्यापी सन्देश प्रवाह गर्नका लागि साथै साँगठिनक चुस्तता, पार्टीको रणनिति, कार्यनिति तथा कार्यदिशालाई ठिक ढँगबाट अगाढि बढाउनका लागि पूर्व महामन्त्रि मुकुल ढकाल माथिको कारबाही फुकुवा गरेर पुनर्बहाली गर्न अपरिहार्य छ । मेरो आसय यो होईनकि बर्तमान नेतृत्व अक्षम रह्यो भन्ने । राजनितिमा मुभ फर्वार्ड गर्नका लागि कहिले काहीँ पार्टीका निर्णयहरु समेत पुनारावलोकन गर्नुपर्ने हुन्छ । यस बेला पार्टीका सम्पुर्ण नेता तथा कार्यकर्ताहरु बिगतका कमी कमजोरि कोट्याएर, कुण्ठा र तुष पालेर बस्ने वा अरुको टाउकोमा दोष थोपरेर आफू ओभानो हुने बेला होईन । सबै एकजुट हुनका लागि सबै पक्षबाट लचकता देखाउनु पर्छ ।

मुकुल ढकाललाई पार्टीमा फर्काउनैपर्ने आवश्यकताबारे थप जोड दिँदै रास्वपा नेता थापाले लेखेका छन् : विभिन्न आन्तरिक तथा बाह्य कारणहरुले गर्दा पार्टीमा मुकुल ढकालको पुनरागमनको अपरिहार्यता र सान्दर्भिकता छ । चाहे कसैले मानोस या नमानोस् । हाम्रो पार्टीलाई सिध्याउन अनेक प्रपञ्च र जालझेल गर्ने बाहिरी तत्वहरु हाम्रा दुष्मन हुन् । उनीहरुसँग लडौं न हामी । मुकुल ढकाल जसले अहोरात्र पार्टी पार्टी भन्दै आफ्ना सारा उर्जा पार्टी निर्माणमा लगाए उनी सँग के को दुष्मनी ? अहिले पनि रास्वपाको बिल्ला लगाएर पार्टी यसरी बनाउनु पर्छ, पार्टी सबै जनताको हुनु पर्छ सबै कार्यकर्ताको साझा पार्टी हुनु पर्छ भनेर हिंड्दैछन् । हामी अरु सँग लड्न सकी राखेका छैनौ । अनि आफ्नै नेता, कार्यकर्ता र सहकर्मीसँग ससाना कुराहरुमा लडाँई गरी राखेका छौं ।

रास्वपा नेता थापाले सभापति रवि लामिछाने रिहाईका लागि भइरहेको आन्दोलनका विषयमा पनि बोलेका छन् । उनले सामजिक सञ्जाल फेसबुक मार्फत भनेका छन् : रबीजीलाई झुठो साँचो जे सुकै अभियोगबाट छुटाउन सकिएला नसकिएला तर यो पार्टीलाई जिवन्त राख्न सकियो भने साँचो अर्थमा रबीजी माथि हामीले न्याय गरेको ठहर्छ । बाहिर बाटोमा उफ्रेर र कराएर भन्दा रणनितिक तरिकाले रबिजीलाई झुठो अभियोगबाट न्याय दिलाउन र पार्टीलाई थप बलियो र जिवन्त बनाउनु चाहिँ हाम्रो परम कर्तब्य हो । सबै रास्वपाका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुमा अनुरोध गर्न चाहन्छु कि पार्टी भित्र एकचोटी सुद्विकरण सहित पुनर्मिलन हुने वातावरण बनाउँ धन्यबाद ।

मुकुल ढकाल निस्कासन प्रकरणबारे पार्टीभित्र फरक कोणबाट आवाज नउठिरहेको बेला रास्वपा नेता महेन्द्रकुमार थापाले शुरु गरेको यो बहसलाई अर्थपूर्ण रुपमा हेरिएको छ । केहीदिनअघि मात्रै मुकुल ढकालले वैकल्पिक राजनीतिको मुभमेन्टलाई जोगाउँन र फैलाउनका लागि बालेन र हर्कहरु पनि मिलेर पार्टीगत राजनीतिमा लाग्नुपर्ने भन्दै विज्ञप्ती जारी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार