राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानको लागि सरकारी वकिलको कार्यालय काठमाडौँ लगिएको छ । उनको बयान केही समयपछि सुरु हुने बताइएको छ ।
हिजो उनलाई कास्कीबाट काठमाडौँ ल्याइ भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो । कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे बयान लिन उनलाई पोखराबाट काठमाडौँ ल्याइएको हो । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई बिहीबार हवाई मार्गबाट काठमाडौं ल्याइएको थियो।
उनीमाथि लागेको आरोपको अनुसन्धान आजदेखि नै सुरू हुने जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानाएका छन् । उनलाई अहिले बयानका लागि काठमाडौं सरकारी वकिल कार्यालयमा हाजिर गराइसकिएको छ । केहि तयारी नपुगेका कारण केहि समयपछि बयान सुरु हुने जनाइएको छ ।
लामिछानेलाई सरकारी वकिलको कार्यालय खुल्नासाथ कार्यालयमा हाजिर गराइएको हो । लामिछानेसँग सरकारी वकिल र प्रहरीको अनुसन्धान अधिकृतले बयान लिनेछ । स्वर्णलक्ष्मीकै बचत अपचनलमा यसअघि छबिलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की फर्काइएको थियो।
सहकारीको २ अर्ब ७४ करोड रुपैयाँ अपचलन भएको पीडितहरूले दाबी छ। त्यसविरूद्ध जिबी राई, छबिलाल जोशी, रवि लामिछानेविरूद्ध सहकारीका ६४५ बचतकर्ताले जाहेरी दिएका थिए। २०७८ साउन ४ मा सहकारीबाट गोर्खा मिडिया अध्यक्ष राई र प्रबन्ध निर्देशक लामिछानेले ‘फोर ह्विलर’ गाडी किन्न ४६ लाख ९८ हजार कर्जा लगेको देखिएको छ।
गाडी किन्दा लिएको ऋणमध्ये ३२ लाख २१ हजार ६ सय ३३ रुपैयाँ ५१ पैसा तिर्न बाँकी देखिन्छ । जिबी राई र रवि लामिछानेका नाममा २०७८ पुस १ मा पनि ‘इको सेभेन सिटर भ्यान’ किन्न भन्दै ४६ लाख ८८ हजार लगेको खुलेको थियो। भ्यान किन्न भनेर लगेको कर्जामध्ये २९ लाख ५२ हजार ४ सय ३६ रुपैयाँ तिर्न बाँकी देखिएको छ ।
छवि,रवि र जिवी व्यावसायीक साझेदार हुन् । छविलाल जोशी गत असोज ५ गते काठमाडाकौंको नयाँ बानेश्वरबाट पक्राउ परेका थिए भने रास्वपा सभापति लामिछाने गत कातिक २ गते पार्टी कार्यालय चमतीबाट पक्राउ परेका थिए । जिबी राई भने अझै पनि फरार रहेका छन् ।