Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

रविलाई आजै पोखरा लगिन्छ ?


सहकारी ठगीको अरोपमा पोखराबाट काठमाडौं ल्याइएका रास्वपा सभापति रवि लामिछानेलाई बयान सकेर आजै पोखरा लैजाने योजनामा प्रहरी रहेको बुझिएको छ । प्राप्त जानकारी अनुसार आज कार्यालय समय खुल्नासाथ लामिछानेलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा लगिनेछ । काठमाडौंमा उनको बयान आज सबेरै सकिएको खण्डमा आजै पोखरा लगिनेछ । लामिछानेलाई अहिले सरकारी वकिलको कार्यालय नजिकै रहेको जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट लामिछानेलाई बयानका लागि कार्यालय खुल्नासाथ सरकारी वकिलको कार्यालय लगिने र त्यहाँको बयान सकिनासाथ हवाई टिकट पाएको खण्डमा पोखरा लैजाने सोचमा प्रहरी रहेको एक उच्च प्रहरी अधिकारीले जनाएका छन् । उनका अनुसार लामिछानेलाई पोखरापछि चितवन लगिनेछ । चितवनमा समेत सहारा सहकारीको रकम अपचलनको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएका कारण उनलाई चितवन लगिने निश्चित भएको हो ।

लामिछानेविरुद्ध शुरुको उजुरी पोखरामा परेको थियो भने उनलाई कार्तिक २ गते काठमाडौंमा पक्राउ गरी एक महिना भन्दा बढी समय कास्की प्रहरीको हिरासतमा राखिएको थियो । गत बिहिबार साँझ मात्रै उनलाई काठमाडौंमा ल्याइएको हो । बिहिबार साँझ काठमाडौं ल्याइएका लामिछानेसँग शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बयान गराइएको थियो । उनको बयान शुक्रबार नसकिएपछि आज फेरि बयान गराउन लागिएको हो । कास्की प्रहरीको अनुसन्धान अझै बाँकी रहेको र जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि दिएको म्याद पनि बाँकी रहेका कारण उनलाई काठमाडौंपछि थप बयानका लागि फेरि कास्की लगिनेछ । कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगीसँगै सम्पति शुद्धिकरण, संगठित अपराध लगाएतमा पनि एकसाथ अनुसन्धान गरिरहेको छ । काठमाडौंमा पनि उनीमाथि सहकारी ठगीसँगै अन्य अपराधको आशंकामा अनुसन्धान भइरहको छ ।

यता लामिछानेलाई गत कार्तिक २ गते पक्राउ गर्नासाथ काठमाडौं, पोखरा सहित देशका विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएका लामिछानेका समर्थकहरुको प्रदर्शन यतिबेला भने सेलाएको छ । यसअघि केन्द्रीय नेताहरुको अगुवाईमा पोखरा, बुटवल, काठमाडौं लगाएतका स्थानमा भएको प्रदर्शन अहिले सेलाएको हो । लामिछानेलाई गत बिहिबार पोखराबाट काठमाडौं ल्याएपछि उनका समर्थकहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपनि समर्थकको संख्या अत्यन्तै थोरै थियो । त्यसको भोलिपल्ट अर्थात शुक्रबार लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा बयान गराइने भएपछि रास्वपा नेतृ ज्वाला संग्रौलाको अगुवाईमा माइतिघरमा प्रदर्शन भएको थियो । तर, शुक्रबारको प्रदर्शन पनि निकै फितलो देखिएको थियो । माइतिघरमा थोरैको संख्यामा रास्वपाका नेता तथा कार्यकर्ताहरु भेला भएर लामिछाने रिहाईको माग गर्दै नाराबाजी गरेका थिए । लामिछानेको तस्बीर अंकित प्लेकार्ड बोक्दै उनीहरुले लामिछानेमाथि राज्यले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका थिए ।

यसअघि पोखरा तथा बुटवलमा बयानका लागि रवि लामिछानेलाई उपस्थित गराउँदा तुलनात्मक रुपमा प्रदर्शनकारीहरुको बाक्लो संख्या देखेको प्रहरीले काठमाडौंमा पनि त्यस्तै प्रदर्शन हुन सक्ने अनुमान गरेका थियो । सोही अनुमानका आधारमा लामिछानेलाई काठमाडौंमा बिहान तथा दिउँसोको समयमा नल्याई साँझपख मात्र ल्याइएको थियो । भोलिपल्ट बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराउँदा पनि लामिछानेका पक्षमा ठूलो प्रदर्शन हुने अनुमानका साथ काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय सम्म ल्याउने बाटो प्रदर्शनकारीहरुले अबरोध गर्न सक्ने अनुमानका साथ बयानका लागि उपस्थित गराउँदा सजिलो होस् भन्ने हेतुले लामिछानेलाई राख्नपनि सरकारी वकिलको कार्यालयसँगै रहेको जिल्ला प्रहरी परिसर राखिएको थियो । तर, प्रदर्शनकारीको उपस्थिती काठमाडौंमा नगण्य मात्रामा देखियो ।
यसअघि पोखरामा प्रदर्शनमा उत्रिएका रास्वपाका सांसद तथा नेताहरुले अदालतको अबहेलना गरेको आरोपमा अदालतमा रिट परेका कारण पनि प्रदर्शनकारीहरु हच्किएको कतिपयको बुझाई छ । तर, रास्वापाले मंसिर ८ गतेबाट दोस्रो चरणको आन्दोलन नै घोषणा गरेको अवस्था देखिएको कमजोर प्रदर्शनले भने रास्वपाको शक्ति घटेको आँकलन राजनीतिक वृत्तमा हुन थालेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार