गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै रविमाथिको अनुसन्धानलाई प्रभावित पार्ने गरी बोल्नु ठिक नभएको बताएका छन् ।
मंगलबार सुर्खेतको वीरेन्द्रनगर पुगेका मन्त्री लेखकले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि भइरहेको अनुसन्धानमा प्रभाव पार्ने गरी काम भइरहेको बताएका हुन् । ‘कसैले पनि अनुसन्धानलाई प्रभावित गर्ने, अदालतलाई प्रभावित गर्ने, न्यायिक प्रक्रियालाई प्रभावित पर्ने ढंगले बोलेको कुरा बेठिक हो,’ गृहमन्त्री लेखकले भने, ‘यसमा प्रमुख प्रतिपक्षी दलको नेताले नै यस्तो काम गर्नु झनै दुर्भाग्यपूर्ण हो ।’
उनले प्रमुख प्रतिपक्षी दलको समर्थनमा लामिछाने आबद्ध दलका समर्थकहरूले पनि अनुसन्धानमा प्रभाव पार्न विभिन्न गतिविधि गरिरहेको बताए । ‘अनुसन्धान हुँदै गर्दा प्रहरी, वकिल कार्यालय र अदालत घेरा हाल्ने, सडकमा आएर विधिको शासनलाई उल्लंघन गर्ने काम भइरहेको छ । के यो सही हो त ?’ उनले भने ।
ठगिएकाको चिन्ता नगरी अनुसन्धान प्रभावित गर्ने कुरा राम्रो नभएको उनको भनाइ छ । ‘जसको पैसा ठगिएको छ उसको चिन्ता छैन । जो माथि अनुुसन्धानको काम भइरहेको छ । त्यसलाई पनि प्रभावित पार्न खोज्ने काम कसैले पनि नगरौँ,’ गृहमन्त्री लेखकले भने ।
कात्तिक २ गते पार्टी कार्यालय बनस्थलीबाट पक्राउ परेका लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पती शुद्धीकरण सम्बन्धी मुद्धामा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।
रवि माथि पोखराको सुर्यदर्शन सहकारी, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी, काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मि सहकारी, चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था र पर्साको सानो पाइला सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ । उक्त आरोपमा प्रहरीले लामिछानेसँग बयान लिइरहेको छ ।
उनको पर्सामा सरकारी वकिलले आजबाट बयान लिन सुरु गरेको छ । यसभन्दा अगाडी लामिछानेले कास्की, रुपन्देही, काठमाडौं र चितवनमा बयान दिइसकेका छन् । पर्सा उनको पाचौँ जिल्ला अदालत हो ।
पर्साको सानोपाइला सहकारी संस्था ठगी प्रकरणमा रवि, जीबी र छविसहितविरुद्ध ४३७ जनाले जाहेरी दिएका छन्। त्यही ठगीको अहिले पर्सा प्रहरीले अनुसन्धान गरिरहेको हो । लामिछानेको आजबाट बयान लिन सुरु गरिएको हो । सोही मुद्दामा त्यहाँ लगिएका पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र रामबहादुर खनालको बयान भने सोमबार नै सकिएको जिल्ला प्रहरी स्रोत पर्साले जनाएको छ ।
जोशी र खनाललाई आजै जहाजको सिमरा–काठमाडौं उडान हुँदै पोखरा पठाउने तयारी रहेको प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय स्रोतले जनाएअनुसार रविको बयान भोलिसम्ममा सकिन्छ ।
बयानपछि उनलाई पनि सिमराबाट काठमाडौं हुँदै पोखरा पठाउने तयारी रहेको छ । वीरगन्ज महानगरपालिका–६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अवैध तवरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ प्रवाह गरिएको मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको हो ।
सानो पाइला सहकारीबाट गोर्खा मिडियाको नाममा ग्लोबल आइएमईमा सञ्चालित बैंक खातामा रकम प्रवाह गरिएको कुरा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनले औँल्याएको थियो ।
२०७८ वैशाखदेखि साउनसम्मको बैंकिङ कारोबारको विवरण (स्टेटमेन्ट) ले रकमको अपचलन पुष्टि गरेको पर्साका एक उच्च प्रहरी अधिकारीले बताए ।