
रास्वपा सभापति रवि लामिछाने प्रहरी हिरासतमा रहेको यो समयमा माओवादीका नेताहरुले लामिछानेलाई साथ दिइरहे जस्तो देखिएपनि लामिछानेका सवालमा माओवादीले समय अनुसार रंग फेर्ने गरेको छ । जतिबेला रवि लामिछाने माओवादी सहितको सत्ता समिकरणमा थिएनन् या भनौं माओवादी र कांग्रेस सहितको सरकार थियो त्यतिबेला रवि लामिछाने माओवादीको निशानामा थिए ।
त्यतिबेला गृहमन्त्रीको कुर्सीमा रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठको ध्यान रास्वपा सभापति रवि लामिछानेमा केन्द्रीत थियो । मिलेसम्म लामिछानेलाई पक्राउ गर्ने योजना थियो श्रेष्ठको । माहोल ठिकठाक भएको भए नारायणकाजी श्रेष्ठ गृहमन्त्री रहेकै बेलामा रवि लामिछाने पक्राउ पर्थे । यो कुरा रास्वपा सभापति रवि लामिछानेले आफू दोस्रोपटक गृहमन्त्री बन्नुअघि पटक पटक भनेका छन् । नारायणकाजी श्रेष्ठ गृहमन्त्री भएका बेला रास्वपा सभापति रवि लामिछानेले विभिन्न ठाउँमा गरेका भाषण अहिले पनि सामाजिक सञ्जालमा सुरक्षित छन् । जसलाई यसो फर्किएर सुन्ने हो भने त्यहाँ रवि लामिछानेले तत्कालिन गृहमन्त्री नारायणकाजी श्रेष्ठप्रति पोखेको आक्रोश बग्रेल्ती पाइन्छ । नारायणकाजी श्रेष्ठ जिबी राईको खोजीमा सरकार रहेको जब जब बताउँथे । तब तब रवि लामिछाने आक्रोशित शैलीमा भन्ने गर्थे, सरकारले जिबी राईलाई पक्राउ गर्न खोजेकै होइन । जिबी राईलाई चाहने हो भने सरकारले सजिलै पक्राउ गर्न सक्छ । सरकारको ध्यान जिबी राईमा होइन म तिर केन्द्रीत । मेरो केही कमी कमजोरी भेटी पो हालिन्छ कि भनेर सरकार दुरबीन लगाएर हेरिरहेको छ ।
लामिछाने आक्रोशित शैलीमा तत्कालिन गृहमन्त्री श्रेष्ठलाई सार्वजनिक फोरमबाट भन्ने गर्थे : गृहमन्त्रीको उद्देश्य नै मलाई समात्नेमा छ ।
बाहिर देखिनेगरी गृहमन्त्री नारायणकाजी श्रेष्ठले रवि लामिछाने पक्राउको खुलमखुल्ला चेतावनी नदिएपनि गृहमन्त्री श्रेष्ठसँग लामिछाने आक्रोशित र भयभित थिए । माओवादी कांग्रेस सहितको सत्ता गठबन्धनको तारो रवि लामिछाने बन्दै छन् भन्ने हल्ला राजनीतिक वृत्तमा व्यापक थियो । हुन पनि रवि लामिछानेका भाषण सुन्दा त्यतिबेला त्यस्तै लाग्थ्यो । रविमाथि नारायणकाजीको निशाना रहेको कुरा रवि लामिछानेले आफू निकटकासँग पछिसम्म पनि बताइरहे । समयक्रममा रवि लामिछाने र नारायणकाजी श्रेष्ठ प्रचण्ड नेतृत्वको एउटै क्याबिनेटमा रहे । तर, एउटै क्याबिनेटमा रहँदा पनि उनीहरुको राम्रो बोलचाल नभएको क्याबिनेटका अन्य मन्त्रीहरु बताउने गर्थे । त्यसो त स्वयं रवि लामिछानेले नारायणकाजीसँगको सम्बन्ध राम्रो नरहेको संकेत सार्वजनिक रुपमा नै गरेका थिए । आफू दोस्रोपटक गृहमन्त्री भएका बेला अघिल्ला गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई इंगित गर्दै रवि लामिछानेले भनेका थिए, जिबी राई भगाउने काम अघिल्लो सरकारले गरेको हो । अघल्लिो सरकार भनेर उनले अघिल्ला गृहमन्त्री नारायणकाजी श्रेष्ठतर्फ संकेत गरेका थिए ।
एउटै सरकारमा रहँदा पनि मिल्ती नभएका नारायणकाजी श्रेष्ठ र रवि लामिछानेको मिल्ती यतिबेला चाहिँ गज्जबको रहेको चर्चा राजनीतिक वृत्तमा छ । नारायणकाजी श्रेष्ठ रवि लामिछानेलाई भेट्न प्रहरी हिरासतमा पुगेका त छैनन् तर, पार्टीको महत्वपूर्ण पदमा रहेका श्रेष्ठले लामिछानेका विषयमा बोल्नुपर्ने आवाज पार्टीभित्र उठाउने गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डदेखि देवेन्द्र पौडेलसम्मले यतिबेला लामिछानेका विषयमा व्यक्त गरेको चिन्ता देख्दा लाग्छ रास्वपाका नेताहरुभन्दा पनि माओवादी नेताहरुलाई लामिछानेको औधी माया लागेको छ । तर, कुरो मायाको होइन । माओवादीे सत्ता स्वार्थको हो । रवि लामिछानेको दल प्रतिपक्षमा नभएर यतिबेला सत्तामा हुन्थ्यो भने सम्भवतः माओवादीले प्रतिपक्षीको बेञ्चबाट कांग्रेससकै शैलीमा आवाज उठाउँदै भन्थ्यो ः रविलाई किन पक्राउ नगरेको ? अहिले रविको दल पनि प्रतिपक्षमा छ र माओवादी पनि प्रतिपक्षमा । त्यहीभएर उसले भनिरहेको छ, रविमाथि अन्याय भयो, रविमाथि राजनीतिक प्रतिशोध साँधियो । माओवादीले अहिले रविप्रति देखाएको सहानुभूति हिजोका दिनमा संसदमा अहिलेका प्रधानमन्त्री केपी ओलीले लिएको रवि पक्षीय अडान भन्दा कुनै दृष्टिमा फरक होइन । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो संसदमा रविको असली अभिभावक झै गरी भनेकै हुन् ः रविमाथि छानबनि नै आवश्यक छैन । तर, आजै उनी नै रविलाई इंगित गर्दै भन्दैछन्, देश चलाउँन सहकारी ठगे जस्तो सजिलो छैन ।